पाँच दलीय गठबन्धन कहिलेसम्म रहन्छ भन्ने 'ग्यारेन्टी' गर्न सकिन्न : नारायणकाजी श्रेष्ठ

‘गठबन्धनको भविष्य सत्तामा रहेका प्रमुख दलहरूको व्यवहारमा भर पर्छ’

 साउन २४, २०७९ मंगलबार १९:४३:८ | किरण लोहनी
unn.prixa.net

मङ्गलवार गोरखाको पालुङटारमा आयोजित कार्यक्रममा बोल्दै नेता श्रेष्ठ

गोरखा – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धन कहिलेसम्म कायम रहन्छ भनेर 'ग्यारेन्टी' गर्न नसकिने बताउनुभएको छ । विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज मङ्गलवार गोरखाको पालुङटारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धनको भविष्य सत्तामा रहेका प्रमुख दलहरूको व्यवहारमा भर पर्ने बताउनुभयो । 

‘प्रतिगमन विरोधी सङ्घर्षका क्रममा पाँच दलीय गठबन्धन बनायौँ, यो एउटा सन्दर्भमा बनेको हो’, श्रेष्ठले भन्नुभयो, ‘यसलाई ठिक ढङ्गले लैजान सुझबुझ सत्तासीन प्रमुख पार्टीहरूले देखाएनन् भने हामी यसको ग्यारेन्टी हरहमेशा गर्न सक्दैनौँ ।’ गठबन्धन ठिक ढङ्गले कसरी अघि बढाउने भनेर अहिले गृहकार्य भइरहेको पनि उहाँको भनाइ छ । 

अर्को प्रसङ्गमा नेता श्रेष्ठले नेपालको राष्ट्रियतामा जोखिम हुने गरी कहीँ कतैबाट गतिविधि हुन्छ भने तमासा हेरेर बस्न नसकिने पनि बताउनुभयो । ‘अहिले वैदेशिक हस्तक्षेप बढेर गएको छ । हाम्रा छिमेकीहरूविरुद्ध हाम्रो भूमि प्रयोग हुन नदिनेतर्फ हामी गम्भीर हुनु जरुरी छ’, उहाँकाे भनाइ छ । वैदेशिक हस्तक्षेपलाई कमजोर बनाउन राष्ट्रियतालाई अझै बढी सुदृढ गर्नुपर्ने र त्यसका लागि आन्तरिक राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने उहाँको सुझाव छ । 

आदिवासी, जनजाति, पिछडिएका वर्गको हक अधिकार स्थापित गर्न अझै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको भन्दै माओवादी केन्द्रका नेता श्रेष्ठले त्यसका लागि संविधानलाई परिमार्जन गर्दै लैजानुपर्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया