प्रधानमन्त्रीलाई नेकपा एसका नेताकाे प्रश्न : देशको सीमाना सुरक्षित छ/छैन भन्न सक्नुहुन्छ ?

 साउन २५, २०७९ बुधबार १७:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने बताउनुभएको छ । 

आज बुधवार काठमाण्डाैमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता खतिवडाले देशको चार किल्ला कहाँ छ भन्ने कुरा कुनै पनि नेतालाई थाहा नरहेको बताउनुभयो । उहाँले मेची र महाकाली सिमाना भनिरहँदा त्यसबीचका कति भू–भागमा अतिक्रमण भएको छ भन्नेबारेमा सबै अन्जान रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘केही समयअघि मैले एउटा पार्टीको अध्यक्षलाई के तपाईँलाई मेरो देशको चार किल्ला ठ्याक्कै यो ठाउँमा हो भन्ने थाहा छ ? भनेर सोधेको थिएँ । आज फेरि हाम्रो चार किल्ला मेची र काली त भन्यौँ तर मेची र कालीभित्रको भूभाग पक्का हाम्रो छ भन्ने ग्यारेन्टी छ ? देशका प्रधानमन्त्रीले त्यो भन्न सक्नुहुन्छ ? राजनीतिक दलका नेताहरूले, पार्टीका अध्यक्षहरूले त्यो भन्न सक्नुहुन्छ ? म पूर्ण विश्वस्त छु, सक्नुहुन्न ।’

नेता खतिवडाले प्रधानमन्त्री, राजनीतिक दलका नेता र पार्टी अध्यक्षले देशको ठिक सीमाना भन्न सकेको दिन सच्चा देशभक्त ठहरिने बताउनुभयो । उहाँले देशमा आफ्नै नागरिक शरणार्थी बनेर बस्नुपर्दा समेत राज्यसत्ता मौन र निःशब्द रहेको बताउनुभयो ।

सिमानामा काँडेतार लगाउनुभन्दा पहिला देशका राजनेता र राजनीतिक दलहरूले मस्तिष्कमा काँडेतार लगाउनुपर्ने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया