प्राधिकरणले १५ अर्ब ४५ कराेड रुपैयाँकाे बिजुली किन्याे, झन्डै ४ अर्ब बराबरकाे बेच्याे

 साउन २५, २०७९ बुधबार १९:७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणकाे गएकाे आर्थिक वर्ष २०७८/७९ मा १५ अर्ब ४५ कराेड रुपैयाँकाे बिजुली किन्दा तीन अर्ब ८८ कराेड रुपैयाँकाे बिजुली बेचेकाे छ । गएकाे वर्ष भारतर्फको विद्युत् निर्यात बढेको छ भने आयात घटेको छ ।

प्राधिकरणको आव २०७८/७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार अहिले नेपालमा खपत गरी बाँकी भएको विद्युत् दैनिक रूपमा झन्डै तीन सय ६४ मेगावाटदेखि झन्डै चार सय मेगावाटसम्म भारततर्फ निर्यात भइरहेको छ । आव २०७७/७८ मा चार करोड ४० लाख युनिट (44Gwh) विद्युत् निर्यात भएकोमा आव २०७८/७९ मा ४९ करोड ३० लाख युनिट (493 Gwh) निर्यात भएको छ । विद्युत् निर्यातबाट प्राधिकरणले तीन अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ । 

अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत् खपत २१ दशमलव २८ प्रतिशतले वृद्धि हुँदासमेत प्राधिकरण विद्युत् आयातलाई घटाउन सफल भएको छ । 

आन्तरिक माग धान्न आव २०७७/७८ मा दुई अर्ब ८० करोड ६० लाख युनिट (2806 Gwh) विद्युत् आयात गरिएकोमा आव २०७८/७९ मा ४५ दशमलव ०५ प्रतिशत घटेर एक अर्ब ५४ करोड ३० लाख युनिट (1543 Gwh) मा झरेको छ । 

आव २०७७/७८ मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत् आयात भएको थियो । आव २०७८/७९ मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । प्राधिकरणले आयात गरेको विद्युतबाट निर्यात गरेको विद्युत् घटाउँदा खुद आयात एक अर्ब पाँच करोड युनिट हुन्छ । रकमका आधारमा ११ अर्ब ५८ करोड रुपैयाँको मात्र खुद आयात भएको छ । प्रणालीमा उपलब्ध ऊर्जामध्ये खुद आयातको हिस्सा ९ दशमलव ४९ प्रतिशतमा झरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आवबाट खुद आयातको अन्त्य भइ खुद निर्यात सुरु हुने बताउनुभयो । आव २०७८/७९ मा विद्युत् पिक डिमान्ड एक हजार सात सय ४७ मेगावाट पुगेको छ । विद्युत् प्रयोग गर्ने ग्राहकको सङ्ख्या सामुदायिकसहित ५३ लाख पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया