यसरी मनाइँदै छ जनैपूर्णिमा र गाईजात्रा पर्व (फाेटाेफिचर)

 साउन २७, २०७९ शुक्रबार ११:४४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौको हनुमानढोकामा रहेकाे सानो पशुपति मन्दिर परिसरमा डोरो बाँध्दै‍ नागरिक ।

काठमाण्डाै - आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष साउन शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात ऋषि तर्पणी आज  जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । 

काठमाण्डौको पशुपतिनाथसहित देशभरका मन्दिरहरुमा आज जनै लगाउने र रक्षाबन्धन बाँध्नका लागि भक्तजनहरुको भिड लागेको छ । आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।

आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पुरोहितसँग रक्षाबन्धन बाँध्ने र वैदिक मन्त्रोसुक्तिले मन्त्रिएका जनै लगाउने चलन छ । यसरी वैदिक मन्त्रोच्चारण गरेका जनै र रक्षाबन्धन बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ ।

आजको दिनमा बाँधिएको रक्षाबन्धन तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

यस्तै, आजै प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा पर्व पनि मनाइँदैछ ।

गाईजात्रा पर्व हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

सबै तस्बिर : रासस

आज बिहान घोराही –५, बबई नदीमा स्नान र जनै फेर्न पुगेका नागरिक। 

जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा काठमाण्डौको हनुमानढोकामा रहेकाे सानो पशुपति मन्दिर परिसरमा डोरो बाँध्दै बालक ।

सानो पशुपति मन्दिर परिसरमा डोरो बाँध्दै नागरिक । 

काठमाण्डौकाे हनुमानढोका परिसरमा बसेका साधुहरू । 

गाईजात्राको अवसरमा भक्तपुरमा वर्ष दिनभित्र ज्यान गुमाएका आफन्तको सम्झनामा निकालिएको गाई । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छन् भन्ने जनविश्वासले गाईजात्रा निकाल्ने गरिएको हो । भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म नौ दिन आठ रात मनाइन्छ ।

ब्राह्मण समाज नेपाल तनहुँले जनैपूर्णिमाका अवसरमा आज दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धनमा डोरो बाँध्दै नागरिक । जातीय विभेद अन्त्यका लागि समाजले सामूहिक जनैपूर्णिमा आयोजना गरेको हो ।

दमौलीमा आयोजना गरेको सामूहिक रक्षाबन्धनमा डोरो बाँध्दै बालक

वैदिक परम्पराअनुसार पाल्पाको रामपुर नगरपालिका–५, राधाकृष्ण मन्दिरमा आज बिहान जनै मन्त्रण गरिँदै । जनैपूर्णिमाका दिन पण्डितबाट मन्त्रण गरेको जनै लगाउने र डोरो बाँध्ने परम्परा हिन्दुशास्त्रमा उल्लेख रहेको छ । 

बुटवल उपमहानगरपालिका–११ मा रहेकाे शिवालय मन्दिरमा जनैपूर्णिमाका दिन आज बिहान जनै मन्त्रण गर्दै पुरोहित ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६, गोसाइँस्थानमा जनैपूर्णिमाका अवसरमा ब्राम्हणद्वारा जनैधारण र रक्षाबन्धन बाँध्दै युवा ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया