सरकारकाे नाम छैनबहादुर, सक्दिनबहादुर राखाैँ कि कसाे ? : सांसद न्याैपाने

 साउन २९, २०७९ आइतबार १४:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभा सदस्य मायादेवी न्यौपानेले सरकारले नागरिकको मागअनुसार केही दिन नसकेकाले सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्ने टिप्पणी गर्नुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

सांसद न्यौपानेले वर्तमान सरकार मङ्सिर ४ गते हुने चुनावपछि कमण्डलु लिएर बनारस जानुपर्ने दाबी गर्दै चुनावपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन । विद्यार्थीलाई किताब दिन सक्दैन । किसानलाई मल, बिउ र सिँचाइ दिन सक्दैन । यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो ?’

यस्तै सदस्य भूमिप्रसाद त्रिपाठीले स्थानीयवासीको माग सम्बोधन गरेर मात्रै काठमाण्डौको फोहर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा विर्सजन गर्न माग गर्नुभयो । 

मीना सुब्बाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भए पनि सरकारले नघटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले इन्धनको मूल्य घटाउन नेपाल आयल निगमलाई ध्यानाकर्षण गराउनुभयो ।

यस्तै राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि आयल निगम चुप लागेर बसेको बताउनुभयो । उहाँले स्वचालित रूपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गर्नुभयो ।

सदस्य रेनुका गुरुङले निहारिका राजपुतले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने अवस्था किन आयो भनी सरकारलाई प्रश्न गर्नुभयो । उहाँले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएकै हो भनी सरकारको जवाफ माग गर्नुभयो । 

उहाँले मधेसका मिटरब्याज साहु पीडित नागरिकलाई न्यायको अनुभुति दिने दायित्व राज्यको भएको बताउनुभयो । उहाँले कार्यदलको नाममा पीडितलाई अलमलमा पार्ने र पीडकलाई उन्मुक्ति दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया