साञ्जेन जलविद्युतको सम्पत्तिमा तोडफोड, कर्मचारी पनि कुटिए

 साउन २९, २०७९ आइतबार १६:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बाँडफाँटमा असहमति जनाउँदै रसुवामा रहेको साञ्जेन जलविद्युत् कम्पनीको सम्पत्तिमा स्थानीयवासीले तोडफोड गरेका छन् ।

शेयर बाँडफाँटमा पहिलेदेखि नै असहमति जनाउँदै आएका गत्लाङका स्थानीयवासीले चिलिमे गाउँपालिकामा रहेको साञ्जेन जलविद्युत् आयोजनाको कार्यालय, पेट्रोल पम्प, गाडीलगायतका सम्पत्तिमा तोडफोड गरेका हुन् । उनीहरूले कर्मचारीलाई पनि कुटेका छन् । साञ्जेनको कार्यालय र सम्पत्ति तोडफोड गरेपछि उनीहरूले माथिल्लो साञ्जेनको कार्यालय पनि तोडफोड गर्ने चेतावनी दिएका छन् ।

तोडफोडबाट आयोजनाको झन्डै पाँच करोड रुपैयाँको क्षति भएको कम्पनीका एक कर्मचारीले जानकारी दिएका छन् । स्थानीयवासीले आक्रमण गर्नुअघि नै प्रहरीलाई जानकारी गराए पनि प्रहरीले वास्ता नगरेको कर्मचारीको गुनासो छ । आयोजनाले रसुवाका नागरिकका लागि १० प्रतिशत शेयर छुट्याएको छ । रसुवाभित्र पनि अति प्रभावित, प्रभावित र जिल्लावासीका लागि फरक–फरक अनुपातमा शेयरको छुट्याइएको छ । तर गत्लाङका बासिन्दाले आफूहरूलाई अति प्रभावित क्षेत्रमा राखेर धेरै शेयरको माग गर्दै उच्छृङ्खल गतिविधि गर्दै आएका आयोजनाको भनाइ छ । 

२०७६ सालमै भएको निर्णय र सहमतिअनुसार अहिले शेयर जारी गर्न लाग्दा गत्लाङका बासिन्दाले विरोध गरेका आयोजनाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया