पर्याप्त मल नपाउँदा नवलपुरका कृषक चिन्तित

 साउन ३०, २०७९ सोमबार १२:४७:११ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - धानबालीका लागि पर्याप्त मल नपाउँदा कृषक चिन्तित बनेका छन् । धान खेती गरेका किसानले आवश्यक मात्रामा मल नपाएपछि धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

‘धानमा युरिया नहाले उत्पादन नै नहुने अवस्था छ, तीन दिनमा १२ दशमलव ५ केजी मल प्राप्त भयो, डेढ बिघा जग्गामा यो मल कतिलाई पुर्याउने’ कावासोती –१२, का कृषक छविलाल काफ्ले भन्नुभयो । यति मलले आधा  समस्या समेत समस्या नहुने उहाँले बताउनुभयो । एउटा ५० केजीको बोरा चार जनाले बाँडेर लिएको उहाँले बताउनुभयो ।

‘बोरा लिँदा पालो चाँडो आउने भएपछि चार जना मिलेर एक बोरा लिएको  हो, नत्र झन् पालो आउँदैन । १५ केजीलाई कति पर्खनु’ काफ्ले भन्नुभयो ।

पर्याप्त पानी नपर्दा चिन्तित बनेका किसानले आवश्यक मात्रामा मल समेत प्राप्त नहुँदा यसपालि उत्पादनमा धेरै कमी आउने हो कि भनी चिन्ता व्यक्त गरेका छन् । ‘बल्लतल्ल धान रोपियो, पर्याप्त पानी नपर्दा एउटा समस्या छ, यता आवश्यक मल नपाउँदा अर्को समस्या थपिएको छ, यसरी लगाएको धान कति फल्ला  खै’ कृषक काफ्लेले भन्नुभयो – 'सरकारले कृषकका समस्या समाधानमा समेत ध्यान दिनुपर्यो ।' 

‘किसानले समयमा बिऊ,  मल पाउँदैन, हरेक वर्ष यस्तै समस्या छ, किसान चिन्तित बनेको छ, सरकार समस्या समाधानमा ठोस पहल गर्दैन’ कावासोती, पिठौलीका कृषक प्रकाश पौडेलले भन्नुभयो– 'यसरी कृषको जिन्दगी कसरी चल्छ ।' 

मल आवश्यक पर्ने हरेक समयमा अभाव झेल्नुपरेको अर्का किसान रामुदेव पोख्रेलले गुनासो गर्नुभयो । यहाँ रहेको सहकारीबाट जनही बढीमा १५ केजीका दरले युरिया मल वितरण गरेको भए पनि यसले समस्या समाधान नहुने उहाँले बताउनुभयो । ‘१५ केजी मल दिएको छ, यो कति खेतलाई  पुर्याउने, कहाँ छर्ने, निल्नु न ओकल्नु भनेझैँ भएकाे छ ।  पाएको मल नलिए पनि भएन’ पोख्रेलले भन्नुभयो –'यही मल लिन पनि तीन दिन धाउनुपर्यो ।'

नवलपुरमा धानबालीका लागि अहिले आवश्यक पर्ने मलको आधा माग पूरा हुने गरी मल आएको कृषि सामग्री कम्पनी लिमिटेड नवलपुर शाखाका निमित्त शाखा प्रबन्धक सोभा न्यौपानेले बताउनुभयो । 

नवलपुरमा अहिले २ सय २४ मेट्रिक टन अर्थात ४ हजार ४ सय ८० बोरा मल आएको न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार अहिले धानबालीका लागि मात्रै कम्तीमा करिब ५ सय मेट्रिक टन मल आएको भए समस्या तत्काल समस्या समाधान हुने थियो । तर मागको आधा मात्रामा मल आउँदा कृषकलाई पुर्याउन समस्या भएकाे उहाँले बताउनुभयो । 

जिल्लामा आएको मल अहिले ५८ वटा सहकारी तथा एग्रोभेटबाट वितरणको व्यवस्था गरिएको छ । नवलपुरको गैँडाकोटमा भने अहिले मल वितरणमा समस्या भएको छ । त्यहाँ रहेका कति सहकारी तथा एग्रोभेटले कसरी मल वितरण गर्ने भन्ने अन्योल भएकाले मल वितरण हुन सकेको छैन् । त्यसबाहेक नवलपुरका सातवटै पालिकामा तोकिएका सहकारी तथा एग्रोभेटबाट मल वितरणको प्रबन्ध गरिएको निमित्त शाखा प्रबन्धक न्यौपानेले बताउनुभयो । माग भन्दा कम मल आए पनि तत्काल केही समस्या समाधान हुने उहाँको भनाइ रहेको छ । तर पर्याप्त भने नहुने उहाँले बताउनुभयो ।

‘अहिले आएको मलले केही समस्या त समाधान होला तर पर्याप्त भने हुँदैन ’ कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका निमित्त शाखा प्रबन्धक न्यौपानेले भन्नुभयो । नवलपुरमा १८ हजार ८ हजार १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाउने गरिन्छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया