राष्ट्रपतिले फिर्ता पठाएकाे नागरिकता विधेयक खारेज गर्नुपर्छ : दुर्गा पाैडैल

 भदौ २, २०७९ बिहीबार १४:५१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधि सभामा त्याे विधेयक पठाएकोमा स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गर्नुभएको हो । 

बिहीवार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले हाम्रोजस्तो खुला सीमाना भएको देशमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर मात्रै अघि बढाउनुपर्ने बताउनुभयो । खुला सीमा भएको देशले जन्मको आधारमा र वैवाहिक नागरिकताको आधारमा विवाह गर्नेबित्तिकै नागरिकता दिन नहुने उहाँको अडान थियो । उपाध्यक्ष पौडेलले विवाहितका लागि अङ्गीकृत नागरिकता पाउन सात वर्ष कुनुपर्ने व्यवस्था गर्नुपर्ने पार्टीको अडान रहेको पनि स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘सम्माननीय राष्ट्रपतिज्यूले संविधानअनुसार नै नागरिकता विधेयकमा पुनर्विचार गर्नका लागि फिर्ता पठाउनुभएको छ । म उहाँलाई धन्यवाद दिन चाहन्छु । राष्ट्रिय जनमोर्चाले संविधान घोषणा गर्दाखेरि नै नागरिकता विधेयकसम्बन्धी आफ्नो धारणा स्पष्ट गर्दै संशोधन राखेर संविधान घोषणा गरेको थियो । नागरिकता प्राप्त गर्न हरेक देशका नागरिकले राजनीतिक आधार, सामाजिक आधार, भौगोलिक आधार, त्यो सँगसँगै सीमा, हरेक क्षेत्रलाई अध्ययन गरेर त्यसका विधिहरू अपनाउने गर्दछन् । विवाह गर्दैमा नागरिकता प्राप्त गर्न योग्य भइसक्यो भन्ने कुरा दुनियाँको कुनै पनि सिद्धान्तले स्वीकार गर्न सक्दैन । नागरिकता एउटा अखण्डतासित, एउटा राष्ट्रियतासित जोडिएको विषय हो । त्यसैले यसमा गम्भीर हुन जरुरी देखिन्छ । हो, नेपाली नागरिकले पाउनुपर्छ । त्यसका निम्ति केही विधि, प्रक्रिया सुधार्नु छ । त्यो कमजोरी छ भने त्यसमा सुधारौँ । त्यसमा विस्तृत रुपमा छलफल गरौं । त्यसमा दुई मत होइन । तर यस्तो खुला सीमाना भएको देशमा विवाह गरेकै आधारमा नागरिकता प्राप्त गर्न योग्य भयो भन्ने किसिमले हामीले छोडिदियौँ भने हामी फिजी हुने सम्भावना प्रबल रूपमा बढेर जानेछ । त्यसैले पनि यो किसिमको कदमलाई रोक्न जरुरी छ । जन्मको आधारमा नागरिकता वितरण गर्ने वास्तविक, सैद्धान्तिक आधार के हो ? कुन विधिका आधारमा हामीले वितरण गर्दैछौँ ? यो हामीले जान्न जरुरी छ । यस्तो विषयमा अहिलेसम्म हेर्दा त्यसका लागि निश्चित समय राखेको हुन्छ । हाम्रो पनि नागरिकता विधेयकमा छ । अङ्गीकृत नागरिकता प्राप्त गर्ने विधि पनि छ । वंशजको आधारमा नागरिकता प्राप्त गर्ने विधि पनि छ । त्यसैले ती विधिलाई प्रयोग गर्दै जाँदा वास्तविक नेपाली नागरिकको कहीँ कमी छ भने त्यसको निम्ति सुधार गर्न सकिन्छ । तर यस्तो किसिमले खुला रूपले जन्मको आधारमा र वैवाहिक नागरिकताको आधारमा नागरिकता दिन सकिँदैन । त्यसैले यो नागरिकता विधेकयलाई खारेज गरेर जानुपर्छ । ’

उपाध्यक्ष पौडेलले विवाह गरेलगत्तै अङ्गीकृत नागरिकता पाउने व्यवस्था विश्वमा कहीँ पनि नभएको दाबीसमेत गर्नुभयो । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया