काभ्रेको महाभारतमा फैलिएको आगो अझै नियन्त्रणमा आएन : पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक

 माघ ११, २०८१ शुक्रबार ८:५६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभ्रेको महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा गएको मङ्गलवारदेखि शुरू भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणका लागि विपद् व्यवस्थापनसम्बन्धी  सरोकारवाला सम्पूर्ण निकायबाट जनशक्ति परिचालन भएका छन् ।

बेथानचोक र महाभारत गाउँपालिकाको सीमामा पर्ने खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा लगेको आगो निभाउन सुरक्षाकर्मी, स्थानियवासीसहित डिभिजन वन कार्यालय धुलिखेलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिलगायतको टोली खटिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो ।

हिजो जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो ।

यस्तै अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानवबस्तीतर्फ आगोलाई आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

आगलागी थप फैलिँदै गए नियन्त्रणका लागि गृह मन्त्रालयसँग थप समन्वय गरी आवश्यक उपकरणसहित जनशक्ति परिचालन गरिने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया