अर्घाखाँचीमा रोपाइँ जात्रा मनाइयो

 भदौ ३, २०७९ शुक्रबार २०:१४:११ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्वर ६ ठूलापोखरामा रोपाइँ जात्रा पर्व मनाइएको छ । 

भगवान् श्रीकृष्णको जन्म दिनको अवसरमा मनाइने रोपाइँ जात्रामा धान रोपे झैँ गरी नाच्ने, गाउने गरिन्छ ।  रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजागाजाका साथ ज्युला असारे गीत गाउँदै र नाच्दै रमाइलो गरी मनाइने गरिन्छ । 

द्वापर युगमा भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा यो पर्व मनाउन थालिएको किंवदन्ती पाइने छत्रदेव ६ ठूलापोखरा चौवाको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव धनीश्वर पाण्डेले बताउनुभयो ।   
अघिअघि भगवान् श्रीकृष्णको रथ, त्यसपछि सजावट गरेर सिँगारिएका राधाकृष्ण, शिव, गणेश, हनुमान बनाएर भजन कीर्तन गर्दै हिँड्ने चलन छ । जसको पछि–पछि पञ्चेबाजाको तालमा असारे वाली गीत गाउँदै रोपाइँ गरेको अभिनय गर्दै नाच्ने गरिन्छ । 

छत्रदेव गाउँपालिका ६ ठूलापोखराको चौवामा रहेको राधाकृष्ण मन्दिरबाट यो जात्रा निकालिएको हो । देशका अन्य जिल्लामा गाईजात्रा पर्वको भोलिपल्ट रोपाइँ जात्रा गरिए पनि अर्घाखाँचीमा कृष्ण जन्माष्टमीमा मनाइने गरिएको स्थानीय पण्डित नवीन पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया