‘प्रदीप गिरि निडर र कुनै लाेभ नभएका नेता’

 भदौ ५, २०७९ आइतबार १४:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस नेता स्व. प्रदीप गिरि निडर नेता भएको बताउनुभएको छ । 

आइतवार बिहान नेता गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुग्नुभएका नेता कोइरालाले उहाँ आफ्नो कुरा स्पष्टसँग राख्न सक्ने निडर नेता भएको बताउनुभएको हो । गिरिको सादगी जीवनबाट नेपालका राजनीतिज्ञहरूले पनि केही सिक्नुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘उहाँ निडर मान्छे । पार्टीले मलाई के गर्छ, कसो गर्छ भन्ने पनि थिएन । त्यसलाई कसैले अराजक भन्ला, कसैले विचारक भन्ला, कसैले पार्टीभन्दा अलिकति माथि भन्ला यो आफ्नो ठाउँमा छ । उहाँबाट हामीले सिक्नुपर्ने भनेको सादगी जीवन पनि हाे ।’

त्यस्तै गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणले गिरि नेपाली राष्ट्रियताको संवर्द्धन र नागरिककाे अधिकारलाई स्थापित गर्न जीवनभर लागिरहनुभएको बताउनुभयो । गिरिले नेपाली कांग्रेसलाई समावेशी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उहाँले उल्लेख गर्नुभयो । उहाँको निधनले सिङ्गो देशलाई क्षति भएको मन्त्री खाणको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा उहाँको प्रतिबद्धता प्रजातान्त्रिक समाजवादप्रति थियो । प्रजातान्त्रिक समाजवादको एउटा प्रखर चिन्तककै रूपमा हुनुहुन्थ्यो उहाँ । उहाँको राजनीति दार्शनिक ढङ्गको थियो । राजनीतिलाई सही दिशामा लिएर जाने, नेपालको राष्ट्रियताको संवर्द्धन र जनताको अधिकारलाई स्थापित गर्ने क्रममा उहाँ जिन्दगिभर लागिरहनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा पनि उहाँ सबैको लोकप्रिय नेता हुनुहुन्थ्यो । नेपाली कांग्रेसलाई समावेशीकरण गर्न सबै जातजाति, भाषाभाषी, धर्म, संस्कृतिलाई समान रूपमा महत्त्व दिनुपर्छ र स्थान दिनुपर्छ भन्नेमा उहाँको सुरुदेखि नै जोड थियो र नेपाली कांग्रेसले त्यसलाई अङ्गीकार पनि गरेको छ । देशले पनि अङ्गीकार गरेको छ ।’

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गिरिलाई समाजवादी विचारका चिन्तक तथा अध्ययनशील व्यक्तित्वको रूपमा उल्लेख गर्नुभयो । उहाँ कम्युनिस्ट कांग्रेस मिलेर नै देशको विकास गर्नुपर्छ भन्ने पक्षमा रहनुभएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । विगतमा पञ्चायतविरुद्ध कम्युनिस्ट र कांग्रेसको एकताको पक्षमा गिरि रहेकै कारणले पनि त्याे आन्दोलन सफल भएको उहाँले स्मरण गर्नुभयो ।

अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले गिरि नेपाली राजनीतिको एउटा ताराको रूपमा रहनुभएको उल्लेख गर्नुभयो । गिरिलाई सादगी जीवन जिउने निष्ठावान् राजनीतिज्ञको रूपमा उहाँले अर्थ्याउनुभयो । गिरिले लोकतन्त्र र समाजवादको गहिरो व्याख्या गर्ने गरेको स्मरण गर्नुभयो ।

कांग्रेस नेता उदयशम्शेर राणाले प्रदीप गिरि निःस्वार्थी नेता भएको उल्लेख गर्नुभयो । कुनै पनि लोभ उहाँमा नरहेको भन्दै राणाले सांसद बनेर संसदबाट बाेलेर सरकारलाई दबाब दिनुमात्रै गिरिकाे चाहना रहेको उहाँले बताउनुभयो । गिरिलाई पार्टी कार्यकर्ताले असाध्यै माया गर्ने गरेको र महाधिवेशनमा जिताउने गरेको पनि उहाँले बताउनुभयो । 

७५ वर्षीय गिरिको शनिवार राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको थियो । आज बिहान मेडिसिटी अस्पतालमा अन्तिम श्रद्धाञ्जली दिएपछि अहिले उहाँको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । आज नै उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरिनेछ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया