कविराम र कर्णबहादुरले पाए आफ्नै नामकाे नागरिकता

 भदौ ५, २०७९ आइतबार २०:१२:५० | अमर सुनार
unn.prixa.net

नागरिकता पाएपछि कविराम र कर्णबहादुर

दैलेख – नागरिकतामा अपमानजनक नाम भएका दैलेखका दुई जना व्यक्तिको नागरिकताको प्रमाणपत्रमा नाम सच्चिएको छ । नेपाली नागरिकताको प्रमाणपत्रमा ‘कुकूर कामी’ लेखिएका कविराम कामी र ‘ठगे कामी’ लेखिएका कर्णबहादुर विकको नाम सच्चिएको हो । साविक मेहेलतोली गाविस–६ अहिले भगवतीमाई गाउँपालिका ३ का कविराम र साविक कट्टी गाविस ६ अहिले भगवतीमाई गाउँपालिका ५ का कर्णबहादुरको नयाँ नागरिकताको प्रमाणपत्र जारी भएको हो । आइतवार जिल्ला प्रशासन कार्यालयले अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताकाे प्रमाणपत्र जारी गरेको हो ।

तत्कालीन मेहेलतोली गाउँ पञ्चायत ६ अहिले भगवतीमाई गाउँपालिका ३ मा २०१७ पुस २५ गते जन्मिएका कविराम कामी अहिले उमेरले ६२ वर्ष पुग्नुभयो । उहाँले तत्कालीन श्री ५ को सरकार, जिल्ला कार्यालय दैलेखबाट २०४६ जेठ ७ गते नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको थियो । तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले उहाँलाई ‘कुकूर कामी’ नाम राखेर नेपाली नागरिकता थमाएको थियो ।

गएकाे साउन २३ गते गृह मन्त्रालयले नाममा अपमानजनक शब्द प्रयोग गरेर विभिन्न जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता प्रमाणपत्र सच्याउन परिपत्र गरेको थियो । गृहको परिपत्रसँगै कविरामले साउन २४ गते अपमानजनक नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपिका लागि जिल्ला प्रशासनमा निवेदन दिनुभएको थियो ।

कविरामजस्तै नेपाली नागरिकतामा ठगे कामी लेखिएका साविक कट्टी गाविस ६ अहिले भगवतीमाई गाउँपालिका ५ का कर्णबहादुरले पनि नागरिताको महलमा कर्णबहादुर विक लेखिएको नयाँ नागरिकताको प्रतिलिपि पाउनुभएको छ । नामकै कारण अपमानित हुनुपरेका कर्णबहादुरले साउन २९ गते जिल्ला प्रशासनमा निवेदन दिनुभएको थियो ।

आवश्यक प्रक्रिया पुर्‍याएर कविराम कामी र कर्णबहादुर विकको नयाँ नागरिकताको प्रमाणपत्र जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो । ‘हामीले नागरिकतामा कुकूर कामी लेखिएका कविराम कामी र ठगे कामी लेखिएका कर्णबहादुर विककाे नागरिकताको नाम सच्चाएर नयाँ नागरिकताको प्रतिलिपि जारी गरेका छौँ’, प्रमुख जिल्ला अधिकारी प्याकुरेलले भन्नुभयो । उहाँले नागरिकतामा अपमानजनक नाम लेखिएका अन्य व्यक्तिलाई पनि जिल्ला प्रशासनको सम्पर्कमा आउन आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया