म राष्ट्रपतिको दौडमा छैन तर आवश्यकता परे पछि हट्दिनँ : झलनाथ खनाल

 भदौ ६, २०७९ सोमबार १४:१५:१७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताउनुभएको छ । 

समाजवादी प्रेस सङ्गठनले साेमवार सदरमुकाम तम्घासमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा गुल्मी आइपुग्नुभएका नेता खनालले अहिलेको आफ्नो दौड भनेको सिङ्गो पार्टी सङ्गठन निर्माणमा रहेको भन्दै आफ्नो सिङ्गो जिन्दगी कुनै पदका निमित्त नभएको दाबीसमेत गर्नुभयो । पार्टी सचिव रामकुमारी झाँक्रीसँगै गुल्मी आउनुभएका खनालले आफूले पदका लागि भनेर मरिहत्ते नगरेको भन्दै देशले आवश्यकता बोध गरेमा र पार्टीले दायित्व दिएमा आफू त्यसबाट पछि नहट्ने पनि बताउनुभयाे ।   

पत्रकार सम्मेलनमा बाेल्दै नेता खनालले केपी ओलीका कारण देश अस्थिरतातर्फ जान थालेपछि संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन गर्नुपरेको जिकिर गर्नुभयाे । 

बाहिर वाम गठबन्धनका हल्ला चले पनि तत्कालका लागि त्याे सम्भव नरहेको उहाँले बताउनुभयो । देशका प्रमुख र सबैभन्दा ठूला भनिने वामपन्थी दलका नेताहरू नै तयर नभएका कारण अहिले एकता सम्भव नभएको उहाँको भनाइ थियाे ।  

नेता खनालले नागरिकता विधेयक देशको राष्ट्रियतासँग जोडिएको विषय भएको बताउनुभयाे । राष्ट्रियताको विषय जहिले पनि सहमतिको विषय बन्नुपर्ने भन्दै यस्ता विषयलाई राष्ट्रिय सहमतिमा पुराउन सकेमा दुरदर्शिता हुने उहाँकाे टिप्पणी छ ।

कार्यक्रममा बाेल्दै नेता खनालले एकीकृत समाजवादी पार्टी एक वर्षको अन्तरालमा राष्ट्रव्यापी पार्टी बन्न सफल भएको दाबी गर्नुभयाे । यस अवधिमा २१ वटाभन्दा बढी जनसङ्गठनहरू निर्माण भएको भन्दै उहाँले समाजवादी पार्टी नवोदित क्रान्तिकारी शक्तिको रूपमा उदय भएको जिकिरसमेत गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया