सिट बाँडफाँट केही दिनमै टुङ्गाे लाग्छ : खनाल

 भदौ ६, २०७९ सोमबार १६:२२:४८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची –  नेकपा (माओवादी केन्द्र) का सचिव चक्रपाणि खनालले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पाँच दलीय गठबन्धनबीच केही दिनमै सिट बाँडफाँटकाे टुङ्गाे लाग्ने बताउनुभएकाे छ ।  

आज साेमवार प्रेस सेन्टर अर्घाखाँचीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा खनालले यही भदाै १५ गतेसम्म सिट बाँडफाँटकाे टुङ्गाे लाग्ने र समयमै उम्मेदवारहरू जिल्ला आउने बताउनुभएकाे हाे । उहाँ पार्टीकाे जिल्ला समन्वय समितिकाे बैठकमा सहभागी हुने अर्घाखाँची आउनुभएकाे हाे । 

पत्रकार सम्मेलनमा बाेल्दै सचिव खनालले माओवादी र नेकपा समाजवादीबीच चुनावपछि एकता हुने बताउनुभयाे । उहाँले चुनावमा संयोजन समिति बनाएर गठबन्धन गरेर जाने र चुनावपछि एकता गर्ने सहमति भएको बताउनुभयो । आउँदाे चुनावलाई मध्यनजर गर्दै पालिका चुनावमा गरिएको गठबन्धन कायम रहने तथा अन्य दललाई पनि गठबन्धनमा समावेश गर्ने गरी प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ । 

अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको जिकिर गर्दै सचिव खनालले गणतन्त्रको रक्षा र स्थायित्वका लागि गठबन्धन गरिएको बताउनुभयाे । गठबन्धन हिजोको जस्तो नभइ स्थायित्व दिने खालको भएको बताउँदै उहाँले राष्ट्रिय जनमाेर्चा र एमालेबाहेकका अन्य कम्युनिस्ट पार्टीसँग पनि एकताको छलफल भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया