२५ ठाउँमा विद्युतीय चार्जिङ स्टेशन बनाउन नेपाल प्रहरी र प्राधिकरणबीच समझदारी

 भदौ ६, २०७९ सोमबार १८:०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमवार आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र प्राधिकरणकाे तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

समझदारीपत्रअनुसार प्रहरी कल्याण कोषद्वारा अहिले सञ्चालित पाँच वटा पेट्रोल पम्प, प्रस्तावित चार वटा पेट्रोल पम्प र बाँकी प्रहरी कार्यालयहरूका अन्य उपयुक्त ठाउँहरू गरी २५ ठाउँमा चार्जिङ स्टेशन स्थापना गरिने छ । चार्जिङ स्टेशन दीर्घकालीनरूपमा प्रहरी कल्याण कोष मातहत सञ्चालन हुने छन् ।

प्रहरीसँग भएको सम्झाैताअनुसार प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेशनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्ने छ । उपकरणहरूको मर्मत तथा नियमित सर्भिसिङसमेत प्राधिकरणले नै गर्ने छ । प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त ठाउँ उपलब्ध गराउनेछ र निर्माण भएपछि चार्जिङ स्टेशनको सञ्चालन तथा सुरक्षा गर्ने छ ।

चार्जिङ स्टेशन सञ्चालन गर्दा प्राधिकरणले समय अनुकूल निर्धारण गरेको दरमा सर्वसाधारणलाई समेत सर्वसुलभरूपमा उपयोग गर्न पाउने व्यवस्था गर्नु पर्नेछ ।सवारी साधन चार्ज गर्दा उपभोक्ताले तिर्ने महसुल प्राधिकरणले सङ्कलन गर्ने छ । विद्युत् वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत् महसुल दरको शुल्कमा हुने कुल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेशनको सञ्चालन तथा व्यवस्थापन खर्चको रूपमा प्रहरीको कल्याण महाशाखाले पाउने छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले विद्युतीय सवारी साधनको प्रयोग गरी देशभित्र उत्पादित विद्युत् खपतका लागि चार्जिङ स्टेशन स्थापनाको समझदारी हुनु ऐतिहासिक अवसर भएको बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न र पेट्रोलियम पदार्थको खपत घटाउनका लागि थप २५ ठाउँमा अत्याधुनिक स्मार्ट चार्जिङ स्टेशन स्थापना गर्न समझदारी हुनु महत्त्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभयो । ‘चार्जिङ स्टेशनका उपकरण तथा पूर्वाधार निर्माणका लागि झन्डै एक करोड रुपैयाँ लाग्छ, विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् महसुलमा पनि विशेष सहुलित दर औसतमा प्रतियुनिट झन्डै पाँच रुपैयाँमा तोकिएको छ’, उहाँले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको प्रयोग गरी गुड्ने गाडीको प्रतिकिलोमिटर खर्च १५/२० रुपैयाँ पर्छ भने विद्युतबाट चल्ने गाडीको धेरै सस्तो प्रतिकिलोमिटर करिब ६० पैसादेखि एक रुपैयाँ पर्छ ।’

प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न देशैभरि ५१ ठाउँमा छिटाे चार्ज गर्न सक्ने अत्याधुनिक चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेशनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिने छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेशनको सफ्टवेयर राखिने छ । ५० वटै स्टेशनको कन्ट्रोल काठमाण्डाैबाट हुने छ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्ने छन् । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया