लमजुङ : गएको वर्ष १६ हजार मेट्रिक टन दूध र ३१ सय मेट्रिक टन मासु उत्पादन

 भदौ ६, २०७९ सोमबार २०:३१:५३ | श्यामशितल परियार
unn.prixa.net

फाइल तस्बिर

लमजुङ – लमजुङमा व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पशुपालनका लागि उपयुक्त हावापानी, चरन क्षेत्र रहेको र पशुजन्य उत्पादनको माग, मूल्य दुवै राम्रो रहेकाले पनि व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढ्दो रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार विदेशबाट फर्किएका साथै स्वदेशमै रहेका युवाहरू व्यावसायिक रूपमै गाईपालन, भैँसीपालन, बाख्रापालन, बङ्गुरपालन, कुखुरापालन, माछापालनलगायतका व्यवसायमा जुटिरहेका छन् । विज्ञ केन्द्रको २०७८/०७९ को तथ्याङ्कअुसार जिल्लामा १६ हजार ६ सय ८० गाई, ३६ हजार चार सय ३५ भैँसी, एक लाख ३८ हजार चार सय ५० बाख्रा, १३ हजार पाँच सय ४० भेडा, सात हजार नौ सय ६५ सुँगुर/बङ्गुर र दुई लाख ७७ हजार पाँच सय १० सङ्ख्यामा कुखुरा पालिएका थिए । 

पशुजन्य उत्पादन बढ्दो

जिल्लामा व्यावसायिक पशुपालक किसानको सङ्ख्या बढेसँगै पशुको सङ्ख्या र पशुजन्य उत्पादनमा वृद्धि भएको छ । गएको वर्ष जिल्लामा तीन हजार ६ सय ६७ मेट्रिक टन गाईको दूध र १२ हजार चार सय ६४ मेट्रिक टन भैँसीको दूध गरी १६ हजार एक सय ३१ मेट्रिक टन दूध उत्पादन भएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 

यसैगरी लमजुङमा गएको वर्ष तीन हजार एक सय ३४ मेट्रिक टन मासु उत्पादन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा लमजुङमा राँगा÷भैँसीको मासु एक हजार तीन सय १७, खसीको नौ सय ५५, कुखुराको ६ सय ८८, बङ्गुरको दुई सय ३२, भेडाको ९२ दशमलव ५ र माछा ४७ दशमलव ८ गरी तीन हजार एक सय ३४ मेट्रिक मासु उत्पादन भएको डा. श्रेष्ठले बताउनुभयो । 

दूध र मासुको माग उच्च 

जिल्लामा मासु र दूधको माग ज्यादा रहेकाले मागअनुसार उत्पादनले पुर्याउन नसकिएको उहाँले बताउनुभयो । ‘जिल्लाको उत्पादन लमजुङसँगै मनाङमा पनि खपत हुने गरेको छ । माग उच्च रहेकाले दूध र मासुको माग लमजुङको उत्पादनले मात्रै पुर्याउन सकिएको छैन । जिल्लामा अपुग पशुजन्य उत्पादन मासु र दूध अन्यत्रबाट आयात हुने गरेको छ’, विज्ञ केन्द्रका प्रमुख डा. श्रेष्ठले भन्नुभयो ।

५ करोड ८८ लाख रुपैयाँको बजेट 

जिल्लामा व्यावसायिक पशुपालनमा किसानको आकर्षण बढाउन किसान लक्षित विभिन्न कार्यक्रम यस वर्ष पनि सञ्चालन गरिने उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा विज्ञ केन्द्रको बजेट पाँच करोड ८८ लाख ७४ हजार रुपैयाँ रहेको डा. श्रेष्ठले बताउनुभयो । 

गण्डकी प्रदेशअन्तर्गत रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यस वर्ष पनि पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन हुँदैछ । उहाँका अनुसार साना व्यावसायिक फर्म स्थापना तथा विस्तार कार्यक्रम सञ्चालन हुनेछ, यसका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

जिल्लामा यस वर्ष व्यावसायिक पशु फर्ममा मल संरक्षण सहयोग, पशुपक्षी स्रोत केन्द्र स्थापना, फर्म यान्त्रिकीकरण, आधुनिक पशु वधस्थललाई औजार उपकरण सहयोग, आकस्मिक उपचार तथा रोग नियन्त्रण, सर्भिलेन्स कार्यक्रम, नियमित उपचार सेवा, नियमित प्रयोगशाला सेवा कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै माछा भुरा खरिद, ढुवानी, भैँसी विकास कार्यक्रम फ्लोअप, समुदायस्तरमा भेडा प्रवर्द्धन कार्यक्रम, तरल नाइट्रोजन व्यनस्थापन, मत्स्य पोखरी निर्माण अनुदान, चरनक्षेत्र सुधार कार्यक्रम पनि सञ्चालन हुनेछन् ।

यसैगरी चालु आर्थिक वर्षमा लमजुङमा स्थानीय जातका कुखुरा संरक्षण, स्टाइलो घाँस बिउ उत्पादन कार्यक्रम कृषि ऋणमा ब्याज अनुदानलगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया