गठबन्धनका नेताहरू सिट बाँडफाँटका लागि 'वान टु वान' वार्ता गर्न सहमत

 भदौ ७, २०७९ मंगलबार १९:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे सिट बाँडफाँडका लागि 'वान टु वान' वार्ता गर्न सहमत भएका छन् । 

कार्यदल र शीर्ष नेताहरूबीच आज मङ्गलवार भएकाे छलफलमा पनि सहमति जुटाउन नसकेपछि नेताहरू वान टु वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन् । सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढङ्गले टुङ्गो लगाउन शीर्ष नेताहरूबीच वान टु वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी सहमतिको नजिक पुगेका छौँ । जतिसक्दो चाँडाे टुङ्गो लगाउनुपर्नेछ । निर्वाचनको कार्यतालिका नै सार्वजनिक भइसकेको छ । यसको सहज निकासका लागि वान टु वान कुरा पनि हुन्छ ।’

कार्यदलका संयोजक रहनुभएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने अस्वस्थ हुनुभएका कारण बैठकमा उपस्थिति हुन सक्नुभएन । त्यसले पनि सहमति जुटाउने कामलाई प्रभावित पारेको मन्त्री कार्कीको भनाइ थियो । 

गठबन्धन दलहरूबीच २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका साथै २०७९ सालको पालिका चुनावकाे मत परिणामलाई आधार बनाएर सिट बाँडफाँड गरेर जाने विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताउँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया