चुनावमा धाँधली हुनु हुँदैन, सत्ताकाे दुरुपयाेग हुन सक्छ : अध्यक्ष ओली

 भदौ ८, २०७९ बुधबार १७:१९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश सभा चुनाव स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ । 

आज बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा सत्ताको दुरुपयोग हुन सक्ने भन्दै आशङ्का व्यक्त गर्नुभएको हो । भेटका क्रममा अध्यक्ष ओलीले चुनाव स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित ढङ्गले सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको भेटमा सहभागी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले ओलीले चुनावमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै अन्यथा भएमा एमालेले कडा रूपमा प्रतिवादमा गर्ने चेतावनी दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्रको आत्मा स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव हो । गठबन्धन सरकारले स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँधलीरहित चुनाव सम्पन्न गर्छ भन्ने कुरामा विश्वास गर्न सकिने स्थिति छैन । भर्खरै सम्पन्न पालिका चुनावमा पनि सत्ताको ज्यादती सर्वत्र देखिएकै हो । त्यसले गर्दा हामीले आउँदो चुनाव स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित, भयरहित हुनुपर्छ भनेका छौँ ।’

एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र सुवासचन्द्र नेम्वाङसहित प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । भेटमा प्रधानमन्त्री देउवाका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुहुन्थ्यो ।

भेटवार्ताका क्रममा एमालेले सत्तारूढ गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको तस्तै पुनः राष्ट्रपतिकोमा पठाउने निर्णय गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । राष्ट्रपतिले संविधानसम्मत रूपले पुनर्विचारका लागि फिर्ता पठाएको भए पनि पुनः प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित गर्नुले राष्ट्रपतिको अपमान भएको भन्दै एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

त्यस्तै सरकारले प्रतिनिधि सभामा प्रस्तुत गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रति पनि एमालेले विरोध जनाएको छ । सरकारले द्वन्द्वकालमा अन्यायमा परेकालाई न्याय नदिने गरी विधेयक ल्याएको भन्दै एमालेले असन्ुतष्टि जनाएको छ । गठबन्धन सरकारले अन्यायलाई अनुमोदन गर्न खोजेको एमाले उपाध्यक्ष पौडेलको भनाइ छ । प्रधानमन्त्री देउवासमक्ष पीडितलाई न्याय दिनका लागि कुरा राखिएको पनि उहाँले जानकारी दिनुभयो । 

त्यसैगरी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा एमाले नेताहरूले देशमा अनियमिता, भ्रष्टाचार र महँगी बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न अनुरोध गरेका छन् । भेटवार्तामा उठाइएका कुराहरूलाई सरकारले सम्बोधन गर्न नसकेमा एमालेले सशक्त प्रतिवाद गर्ने उपाध्यक्ष पौडेलले बताउनुभयो । 

प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलले उठाएको कुराप्रति आफू सकारात्मक भएको र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो । उपाध्यक्ष पौडेलले सरकारको एक वर्ष असफलताको वर्ष भएको र राष्ट्रको एक वर्षको समय बरबाद भएको टिप्पणी पनि गर्नुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया