जय ट्रफी एलिट कप : मधेश १ सय २ रनमै अलआउट, सन्दीपले लिए ५ व...
पुस २१, २०८१ आइतबार
थाइल्यान्डकी प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रवार ४० करोड अमेरिकी डलरभन्दा धेरैकाे सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले आफूसँग २० लाख अमेरिकी डलरभन्दा धेरै मूल्यका २ सय वटाभन्दा धेरै ह्यान्डब्याग र झन्डै ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताउनुभएको छ ।
थाई टेलिकमका मालिक तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गएकाे सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गर्नुभएको थियो ।
पेटोङटार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी) को अनुरोधमा घोषणा गर्नुभएको हो । उहाँले आफूसँग १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताउनुभएको छ ।
उहाँको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको घोषणामा उल्लेख छ ।
उहाँको अन्य सम्पत्तिमा झन्डै सात करोड ६० लाख भाट मूल्यका २ सय १७ वटा ह्यान्डब्याग र १६ करोड २० लाख भाट बराबर मूल्यका ७५ वटा घडी रहेको उल्लेख छ । उहाँले आफूसँग बेलायती र जापानका अन्य सामान पनि सम्पत्तिका रूपमा रहेको उल्लेख गर्नुभयो ।
स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेको एनएसीसीको दस्तावेजअनुसार उहाँले झन्डै पाँच अर्ब भाटको अन्य दायित्व पनि घोषणा गर्नुभएको छ । योसहित उहाँको कुल सम्पत्ति २५ करोड ८० लाख अमेरिकी डलर छ ।
फेउ थाई पार्टीका एक प्रतिनिधिले एएफपीसँग कुरा गर्दै थाई सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्याङ्क सही भएको पुष्टि गर्नुभएको छ ।
फोर्ब्सका अनुसार कुनै समय म्यानचेस्टर सिटी फुटबल क्लबको मालिकसमेत पेटोङ्टार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर छ । फोर्ब्सको सूचीमा उहाँ थाइल्यान्डकाे १०औं धनी व्यक्ति बन्नुभएको छ ।
थाक्सिनले आफ्नो शिन कर्प दूरसञ्चार कम्पनीले कमाएको धनलाई राजनीतिमा उत्प्रेरित गर्न प्रयोग गर्नुभएको थियो । उहाँको परिवार निर्वासनमा रहेका वर्षहरूमा पनि थाई राजनीतिमा प्रभावशाली रहेको थियो ।
विश्लेषकहरूका अनुसार थाइल्यान्डमा सम्पत्ति र पारिवारिक विराशतको लामो समयदेखि सम्बन्ध देखिँदै आएको थियो । सुखोथाई थाम्माथिरात विश्वविद्यालयका युट्टापोर्न इस्साराचाइले एएफपीसँग भन्नुभयो, ‘पूर्णरूपमा क्रियाशील लोकतन्त्र नभएको देशमा राजनीतिक गतिविधिमा पैसाको महत्त्वपूर्ण भूमिका हुन्छ । पारदर्शिताको कमीको दाबीका साथ यसलाई अक्सर सैन्य हस्तक्षेपका लागि जिम्मेवार मानिने गरिएको छ ।’
थाइल्यान्डको संवैधानिक अदालतले गएकाे अगस्टमा पदच्युत गर्दा पेटोङ्टार्नका पूर्ववर्ती प्रधानमन्त्री श्रेता थाभिसिनले ९८ करोड ५० लाख भाटको सम्पत्ति घोषणा गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।