जनतालाई अलमलबाट मुक्त गरेर एमालेकाे पक्षमा आउने वातावरण बनाउनुस् : अध्यक्ष ओली

 भदौ १०, २०७९ शुक्रबार १४:१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे सङ्घीय र प्रदेश सभा चुनावमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा सुरुमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आउँदाे चुनावमा जनमत एमालको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको हो । उहाँले नागरिक अलमलमा पर्न सक्ने भन्दै उनीहरूलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता कार्यकर्ताको काँधमा रहेको बताउनुभयो । उहाँले जनमत एमालेको पक्षमा पार्ने र त्याे जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरू अवलम्बन गर्न पनि निर्देशन दिनुभयो । 

उहाँले भन्नुभयो, ‘जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । एमालेको पक्षमा, देशको पक्षमा, लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने, त्यस जनमतको त्यसैगरी रक्षा गर्ने, त्यस जनमतलाई कसैले गलत ढङ्गले दुष्प्रभावित गर्लान् कि भनेर त्यसका निम्ति ध्यान दिने । त्यतातर्फ हामीले ध्यान दिनु जरुरी छ ।’

अध्यक्ष ओलीले चुनावलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भूमिका खेल्न पनि आग्रह गर्नुभयो । निष्पक्ष चुनाव गराउनका लागि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठिक काम गर्न रोक्नुपर्ने उहाँकाे भनाइ थियाे । 

केन्द्रीय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले शपथ ग्रहण गरेका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची रहेका छन् । त्यस्तै स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरूका प्रतिवेदन पेस गर्नेलगायतका कार्यसूची रहेको एमालेले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया