आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : मन्त्री शर्मा

 भदौ १०, २०७९ शुक्रबार १७:५४:१ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन – अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज शुक्रवार उहाँले आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो । 

अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उहाँले भन्नुभयो, ‘अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ ।’ अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो । 

देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँ–गाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरुरी रहेको मन्त्री शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘श्रम योग्यलाई तालिम दिएर उद्योगी, व्यवसायी वा देशमा नै श्रम गर्न प्रेरित गर्नुपर्छ ।’ उत्पादनले मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने भन्दै उहाँले उत्पादनका क्षेत्रमा लगानी बढाउन सरकार तयार रहेको बताउनुभयो । निजी, सहकारी र सरकारी तबरको लगानीले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो । 

मन्त्री शर्माले विश्वभर भइरहेको मूल्यवृद्धि र विभिन्न देशमा चलेको युद्धको असर नेपालमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वमा चलेको मूल्यवृद्धि र युद्ध रोकिने अवस्थामा छैन । अझै फैलिने क्रम जारी छ । यसको असर नेपालमा पनि परेको छ ।’ आर्थिक विकास र उत्पादनलाई सहयोग पुग्ने गरी सरकारले नीति कार्यक्रम बनाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हामीले ल्याएको बजेट कार्यान्वयनमा आउँदा देशमा रहेको गरिबीको अन्त्य हुन्छ ।’

फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको गठबन्धन देशको र राजनीतिक बाध्यताले बनेको दाबी गर्नुभयो । अहिलेको गठबन्धन सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया