तीज, पार्टी प्यालेसको दर र कालाचश्मा नाच !

 भदौ ११, २०७९ शनिबार ९:४१:४५ | सुनिता अधिकारी
unn.prixa.net

तीज आउनु पहिलेदेखि नै दर पार्टी र नाचगान । दरको नाममा कतिपयले ‘दारु’ पनि खाएको देखियो । कतिपय गीत सुनिनसक्नुको । कति नाच हेरिनसक्नुको । हुँदाहुँदा अहिले ‘काला चश्मा’ भन्दै टिकटकमा भाइरल नाच देखाउने होडबाजी । यी सबै देख्दा मलाई पहिलेको तीजको याद आयो ।

उबेला तीज आउनु केहीदिन अघिदेखि मात्रै चहलपहल हुन्थ्यो । बिहे गरेका दिदीबहिनी लिन दाजुभाइ जान्थे । दर खाने दिनसम्म दिदीबहिनीहरु माइत आइपुग्थे । दर खानको लागि भनेर पहिलेदेखि नै घरमा घिउ र लोकल कुखुरा खोजेर राखिएको हुन्थ्यो ।  

चेलीबेटी जम्मा भएको दिन घरमा आमा–दिदीहरुले दुःखसुखका कुरा साट्थे । दिदीले घरमा पाएको दुःख सुनाउँथिन् । अनि आमा र दिदी सुँक्कसुँक्क गर्थे । उहाँहरुको पीडा र वेदनाका कुरा  सुनेर हामी केटाकेटीको मन पनि अमिलो हुन्थ्यो ।

आमा–दिदीहरुको भलाकुसारी सकिन नपाउँदै हामी निदाउँथ्यौँ । अनि राति १२ बजेतिर आमाले दर खाने बेला भयो भन्दै उठाउनुहुन्थ्यो । अनि आँखा मिच्दै उठ्थ्यौँ । घिउ हालेको भात, दही, केरा, आलुको मिठो तरकारी । आमा–दिदीहरुसँगै बसेर खाँदा कति रमाइलो हुन्थ्यो ।

भोलिपल्ट बिहानै उठेर त्रिशूलीमा नुहाउन जान्थ्यौँ । गाउँका सबै दिदीबहिनीसँग भेट हुन्थ्यो । बिहे भएर गएका दिदीहरुसँग भेट हुने मौका नै यहीबेला मिल्थ्यो । नदीको किनारमा पूजा गरेपछि तीजको व्रत सुरु हुन्थ्यो । अनि फर्किएर घर आएपछि गाउँमा कसैको घर या चोकमा जम्मा हुन्थ्यौं । अनि नाचगान गरेर रमाइलो गर्थ्याैँ ।

अनि ऋषिपञ्चमीको दिन पनि उस्तै रमाइलो हुन्थ्यो । बारीमा दतिवन खोज्न जान्थ्यौं । घरको पिँढीमा बसेर दतिवन केलाउँथ्यौँ । बिहानै नदीमा गएर नुहाउँथ्यौँ। गाउँका सबै दिदीबहिनी एकैठाउँमा बसेर नुहाउँदा कति रमाइलो हुन्थ्यो । ऋषिपञ्चमीको दिन पनि उसैगरी नाचगान गरेर रमाइलो गर्थ्याैँ । दिदीबहिनी र साथीसँगीहरुसँग भेट । आमाले पकाएको मीठा खानेकुरा । बाबाले छोरीहरुलाई खुवाउन भनेर गाउँबाट खोजेर ल्याएको लोकल कुखुराको भालेको मासु । साधारण तर मौलिक तीज । अहिलेजस्तो भड्किलो थिएन ।तर केही वर्ष भयो मैले त्यस्तो मौलिक तीज देख्न पाएको छैन ।

अहिलेको तीजमा पारिवारिक माया, भावना र संस्कृति नै देखिँदैन । घरमा आमाले पकाएको मीठो दरभन्दा पार्टी प्यालेसमा खाना देखिन्छ । तीज आउनुभन्दा महिनौँ पहिलेदेखि नै होटल र पार्टी प्यालेसमा दर खाने भन्दै दिदीबहिनी जम्मा हुन्छन् । भड्किलो पहिरनमा रमाउँछन् । पार्टी प्यालेसमा दर भन्दै खाइने परिकार र नाचगान हाम्रो असली तीज हो त ? हाम्रो तीजको संस्कृति यस्तै हो त ? हामी शिक्षित र पढेलेखेको भन्छौँ, तर आफ्नो संस्कृतिमा विकृति मिसिएको किन देख्दैनौँ ? 

पहिलेका तीजका गीतमा पीडा र वेदनासँगै जागरणको कुरा हुन्थे । आमा–छोरी, दिदीबहिनी सँगै बसेर नाचगान गर्थे । बा, हजुरबा, दाजु, काका र छिमेकका अरु पुरुषले पनि रमाइलो मानेर तीजको नाचगान हेर्थे । तर अहिले कतिपय तीजका गीत सुन्नै नसकिने खालको छ । कतिपय दिदीबहिनी तीजको गीत भन्दै हिन्दी गीतमा नाच्छन् । परिवारका सबैजना सँगै बसेर हेर्नै नसकिने खालको हुन्छ । 

स्वतन्त्रता भनेको ढुक्कसँग खान, लगाउन, लेख्न, पढ्न र पुरुषले जसरी नै बाहिर काम गर्न पाउनु, आफ्नो कुरा निर्धक्क राख्न सक्नु, आफ्नो निर्णय आफैँ गर्न पाउनु, हिंसाको विरोध र अधिकारको पक्षमा बोल्न सक्ने हुनु, सहीलाई सही र गलतलाई गलत भन्न सक्नु हो । तर यहाँ त स्वतन्त्रताको नाममा एक हातमा चुरोट र अर्को हातमा बियरका बोतल समाउँदै आधा ज्यान ढाक्ने कपडा लगाएर भड्किलो गीतमा नाचिन्छ ।

समानता भनेको पुरुष सरह अवसरहरु पाउनु, सम्मान पाउनु, पुरुषसँगै आफ्ना विचार र राख्न र निर्णय गर्न पाउनु जस्ता कुराहरु पर्छन् । हामी महिला आरक्षणको कुरा गर्छौँ। असमानता भयो भन्दै आरक्षणको कोटा खोज्छौँ, गाडीमा आरक्षण सिट खोज्छौँ । अनि कसरी समानताको कुरा गर्न मिल्छ ?

हिम्मत गर्ने हो भने त हामी महिलाले पनि श्रीमान, बाबा, दाइभाइजस्तै म पनि आफ्नै कमाइले घरखर्च धान्न सक्छु, पुरुषसँगै खुला रुपमा हरेक कुरामा प्रतिस्पर्धा गर्न सक्छु, म अगाडि बढ्छु बढ्छु, पुरुषजस्तै सार्वजनिक गाडीमा उभिएर यात्रा गर्न सक्छु, घरभित्रको काममा मात्रै होइन बाहिर पनि काम गरेर कमाउन सक्छु भनेर देखाउन सक्नुपर्छ । कतिपय महिलाले पुरुषले भन्दा राम्रो काम गरेर र उच्च ठाउँमा पुगेर पनि देखाएका छन् ।

तर कतिपयले चाडपर्वलाई भड्किलो बनाएर सबै महिला उस्तै त हुन् नि भन्ने पारिरहेका छन् । छोटा र भड्किलो कपडा लगाएर काला चश्मा भन्दै हिन्दी गीतमा उफ्रिएर हाम्रो संस्कृति बच्दैन । यसरी नाच्नु समानता र स्वतन्त्रताको प्रमाण पनि होइन । तीजमा भित्रिएको विकृति रोक्न सकिएन भने हाम्रो मौलिक संस्कृति र परम्परा इतिहासको पानामा सीमित हुनेछ। 

अन्तिम अपडेट: चैत २९, २०८०

1 Comments

  • नगेन्द्र सुवेदी

    Aug. 28, 2022, 8:31 a.m.

    राम्रो आलेख । शिक्षित र युवा पुस्ता नै यसरी आँखा चिम्लिएर खराब संस्कृति भित्र्याउन लागी परेका छन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया