तीजको टिकटक : रातो साडीमा काला चश्मा !

 भदौ १२, २०७९ आइतबार ९:०:५३ | मिलन तिमिल्सिना
unn.prixa.net

ओइ तैँले काला चश्मामा टिकटक हानिस् ?

कस्तो काला चश्मा हो ? साडी र स्कर्टमा त उहिल्यै बनाएको । फेरि चश्मा, त्यसमा पनि कालो चश्मा नै चाहिँ किन नि ?

कस्तो लाटी रछे यो । टिकटक चलाउँछे फेरि काला चश्मा के हो भनेर सोध्छे । टिकटकको ट्रेन्ड साडी, स्कर्ट, विनास्कर्ट हुँदै काला चश्मामा पुगिसक्यो, तँलाई थाहा छैन र ? 

आ... जहाँसुकै पुगोस् त्यस्तो ट्रेन्ड । हिजोआज त मैले टिकटक बनाउन पनि छोडेँ, हेर्न पनि । हेरिसक्नु भए पो हेर्नु ।

अर्काले नदेख्नेगरी त हेर्दा भैहाल्छ नि । कस्ता कस्ता कुरा त हेरिन्छ, जाबो टिकटक ।

यो पनि कस्तो लाज नभएकी होला । के के मात्रै भन्छे ।

के को लाज नि । टिकटक बनाउन र हेर्न पनि लाज मान्न हुन्छ त । ल हेर यहाँ काला चश्मा डान्स ।

आबुई कस्तो खालको डान्स हो यो । उहिल्यै कट्रिना कैफले गरेको डान्स हैन भन्या यो ? 

के को कट्रिना मात्रै । उता नर्वेका ठिटाहरुले बिहेभोजमा नाचेर कस्तो तहल्का मच्चाए । संसारका सबैतिर पुगेर भर्खरै नेपाल आइपुगेको ट्रेन्ड यो । हेर न यहाँ हेर, सबैले बनाएर भ्याइसके । नायिकाले बनाउनेबित्तिकै सरकारी कर्मचारी र स्वास्थ्य स्वयंसेविका समेत कार्यालय ड्रेसमै काला चश्मा भन्दै बुरुकबुरुक उफ्रिसके । आमा, काकी, भाउजु, दिदी, हजुरआमाहरुलेसम्म भ्याइसके । अब बाँकी तँ र म मात्रै हो।

लौन कस्तो डान्स हो क्या । के गर्या यस्तो लाजमर्नु । कति साह्रो कसरी उफ्रिएका, कस्तो हल्लिएका ? म त मरेँ बाइ ।

आजै कहाँ मर्ने कुरा गर्छे ? टिकटकमा अझै कतिथोक हेर्न र बनाउनै बाँकी छ । ल आइज न त बनाउँ हामी पनि काला चश्मा ।

यत्तिकै त के बनाउनु, साडी लगाउनुपर्छ । यहाँ हेर त यसरी । 

लगाउँ न त, तीजमा साडी लगाउन के ठूलो कुरा भयो र ? यी हेर त साडी पनि रातै छ, तीजकै लागि भनेर किनेको । तेरो पनि छ नि, लगा न।

ल ल यसले पनि के के मात्रै भन्छे । खै मलाई त साडी लगाउन पनि आउँदैन भन्या ।

यसो कम्मरमा बेर न, राम्रोसँग किन लगाउनुपर्यो र । एकछिन टिकटक बनाउने बेलासम्म नफुस्के भएन ? ल अब यो चश्मा पनि लगा । ल ऐना हेर त, वा क्या च्वाँक देखिएकी, ठ्याक्कै कट्रिनाजस्तै ।

आ धेरै नजिस्का । ल अब के गर्ने भन् ।

यी यहाँ हेर न यसरी नाच्ने । दुईटा घुँडा र दुई हात यसरी टेक्ने । अनि यसरी बुरुकबुरुक गर्ने क्या । 

छ्या कसरी गर्ने होला यो, म त सक्दिनँ ।

ल यहाँ हेर यसरी गर्ने ? मेरो खिच् त पहिले ।

अनि तँ एक्लैले गरेर हुन्छ त । अरु पनि त चाहिने रैछ नि पछिल्तिर गीतको तालमा उफ्रँदै हात र जिउ हल्लाउने ।

अँ हो त ? उ ती भाउजु र पल्लोघरका अन्टीहरुलाई नि बोलाउँ ल ।

किन नानीहरु भन त ।

टिकटक बनाउनुपर्यो क्या भाउजु, काला चश्मावाला ।

आ हामीले त उहिल्यै बनाइसकेको । नानीहरुले अझै बनाएका छैनौ ?

कहाँ बनाउन भ्याउनु भन्या भाउजु । बल्ल त हेर्दैछौँ ।

लौ नानीहरु पनि कुन जमानाका छौ ? हामीले त अस्ति दर खाँदै यही काला चश्मा डान्समा टिकटक बनाएको । हेर त मेरो यहाँ ।

ए लौन भाउजु कति राम्रो हो क्या डान्स । कसरी उफ्रनुभएको यस्तो ? 

दाइले गाली गर्नुभएन ?

कहाँ नानी उफ्राइ बढी भएछ, हिजोदेखि कम्मर झस्केर चलाउनै भएको छैन । दाइले झण्डै मारेका थिएनन् । मान्छेले कमेन्ट पनि के के गर्दा रहेछन्, छ्या ।

हो र भाउजु, त्यस्तो गाह्रो हुन्छ है । हामी पनि एकपटक ट्राइ गर्छौं क्या । तपैँहरु पनि बसिदिनु न है ।

ल ल नानी । ल हामी सबै यसरी उफ्रँदै आउने, अनि तिमी चाहिँ अघिल्तिर आएर दुई हात र घुँडा टेकेर ढिंकी कुटेझैँ जिउ हल्लाउ है त ।

ल ल सुरु भयो । 

आइया.....मेरो त कम्मरै भाँचियो । कति गाह्रो हो क्या । कसरी गर्न सकेका होलान् ।

गर न गर ठिक छ क्या नानी । यहाँ टिकटक बन्दैछ ।

नाइँ मैले त सकिनँ, खै तँ गर त ।

आइया मेरो नि कम्मर भाँचिने भयो । सक्दिनँ म त ।

ल तिमीहरुले नाचेर खाँदैनौँ। ल हेर यहाँ हाम्रो यति ठूलो जिउ त यसरी हल्लिन्छ । खिचिराख है.....काला चश्मा ।

उ आमा आउनुभयो ।

हैन के गरेका हँ तिमीहरुले ? घर नै भत्काउँला झैँ गरी अघिदेखि उफ्रिएका उफ्र्यै छौ । यस्तो अँध्यारो कोठामा यति कालो चश्मा लगाएर छनक र मनक, के हो पारा ?

तीज मनाएको क्या आमा ।

यस्तो नि तीज हुन्छ ?

अहिले यस्तै त हुन्छ नि आमा तीज । रातो साडी, काला चश्मा । कहिले कम्मर मर्काउने, कहिले जिउ पूरै हल्लाउने, कहिले घोप्टो परेर हातखुट्टा टेकेर उफ्रने अनि टिकटक बनाउने ।

टिकटक हो कि के जाति टकले पनि हैरान पार्यो भन्या । जो पनि मोबाइलमै झुण्डिएका छन् । खितखित हाँसेका छन् । उफ्रेका छन् । गीत पनि कस्ता हुन्, नाच पनि कस्ता हुन् । हेर्नै लाजमर्दो । 

लाज मान्नु पर्दैन क्या आमा । अब तपाईँहरुको जस्तो जमाना हो र ? तपाईँ पनि लगाउने हो काला चश्मा ? लगाउनुहोस् ल ।

लगाउन परेको छैन यस्ता काला चश्मा । कुन दिन काला चश्मा लगाएरै सडकमा डोजर चलाउँदै हिँड्ने मेयर आउँछन् र तिमीहरुकै टिकटकमा डोजर चलाउलान् नि । घर र भवनको जथाभाबी संरचनाले सडक बिगारेजस्तै तिमीहरुको काला चश्मावाला नाचले पनि शरीरको संरचना बिगारिसक्यो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Kamala Gurung

    Aug. 28, 2022, 9:45 a.m.

    तीजको नाममा विकृती , हिन्दु गीतमा छाडा नाच्ने ....नेपाली तरिकाले तीज मनाउने कि हिन्दी गीतको प्रचार गर्ने ??

  •  0 Reply

तपाईको प्रतिक्रिया