‘काठमाण्डाैबाट सिन्धुली जान बिजुली गाडीमा ३ सय लाग्छ, डिजल/पेट्राेलकाे गाडीमा ४ हजार रुपैयाँ लाग्छ’

 भदौ १४, २०७९ मंगलबार १५:४९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिजुली निर्यातले देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान रहने बताउनुभएको छ । 

आज मङ्गलवार नेपाल विद्युत् प्राधिकरणले काठमाण्डाैकाे रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले देशले ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताउनुभयो । देशभित्रकै जलस्रोतबाट बिजुली उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्त्वपूर्ण काम भएको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘नेपालको ऊर्जाको क्षेत्रमा ठूलो क्रान्ति हो । नेपालमा डलर खर्च गरेर विदेशबाट झन्डै तीन खर्ब रुपैयाँको डिजल र पट्रोल आयात हुने गरेको छ । उत्पादित बिजुलीकाे खपत बढाउने एउटा मात्रै माध्यम बिजुली गाडी हो । पछिल्लो एक वर्षमा बिजुली खपत २२ प्रतिशतले बढेको छ । यातायात क्षेत्रमा भने साेचेजस्तो भएकाे छैन ।’

मन्त्री भुसालले रुस र युक्रेन युद्धका कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा सङ्कट भएकाे बताउनुभयाे । विश्वका धेरै देशलाई डिजल र पेट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा त्यसकाे विकल्प बिजुलीबाट परिपूर्ति गर्नुपर्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयाे, ‘विश्वका धेरै देशलाई डिजल र पेट्रोलको प्रतिस्थापनको विकल्प छैन । नेपालीले गौरव गर्नुपर्छ, नेपालमा डिजल र पेट्रोलको विकल्प छ । नेपालको बिजुली धेरै सस्तो रहेको छ । काठमाण्डाैबाट सिन्धुली जाँदा बिजुली गाडीमा तीन सय रुपैयाँकाे विद्युत् खपत हुन्छ । तर डिजल र पेट्रोल प्रयोग हुने गाडीमा चार हजार रुपैयाँ खर्च हुन्छ । देशको व्यापार घाटा कम गर्ने एउटा माध्यम जलविद्युत् नै हो ।’

मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चारमाध्यमले जलविद्युतको विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय देशमा बिजुली गाडीकाे माग अत्यधिक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया