चोभार सुक्खा बन्दरगाह मज्जाले चल्छ, केही समय धैर्य गरौँ

 भदौ १६, २०७९ बिहिबार १९:१:१९ | आशिष गजुरेल
unn.prixa.net

काठमाण्डौ उपत्यका र आसपासका जिल्लाका लागि खपत हुने र यहाँबाट कारोबार हुने सामानको आयातलाई सहज बनाउन काठमाण्डौको चोभारमा सुक्खा बन्दरगाहको अवधारणाअनुसार काम सुरु भएको थियो । काठमाण्डौ र आसपासका जिल्लाका लागि विदेशबाट आउने सामाग्रीको भन्सार जाँचपास पनि सीमा नाकामै गर्नुपर्ने झन्झटलाई हटाउने र अन्तर्राष्ट्रिय व्यापारलाई अहिले भन्दा सहज बनाउने सरकारको लक्ष्यअनुसार चोभारमा सुक्खा बन्दरगाहको काम थालिएको थियो । 

म नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी भएर यहाँ आइपुग्दा बन्दरगाह निर्माणको काम सुरु भएको २८ महिना भइसकेको थियो तर प्रगति जम्मा ४० प्रतिशत थियो । विभिन्न समस्या र ठेकेदारको ढिला सुस्तीका कारण प्रगति निराशाजनक देखिएपछि मैले अग्रसरता लिएँ । रात दिन नभनी आफैँ फिल्डमा खटिएँ, ठेकेदारलाई सहजीकरण र चेतावनी दुवै दिएर बाँकी आठ महिनामा काम सम्पन्न भयो ।

त्यतिखेर कोभिडको महामारी थियो । कैयौँ पटक हामीले निर्माण सामग्री पाएनौँ, पालिकाहरूले आफ्नो क्षेत्रभित्र गाडी प्रवेशमा रोक लगाएका थिए, उद्योग बन्द थिए । त्यस्तो अप्ठेरो अवस्थामा पनि हामीले केन्द्रदेखि पालिकासम्म समन्वय गरेर निर्माण सामग्री र कामदारको अभाव हुन दिएनौँ । यति ठूलो पूर्वाधार समयमै र उल्लेख भएकै गुणस्तर तथा डिजाइनमै बन्न सक्नु आफैँमा निकै खुसीको कुरा हो । यसमा हामी सबैले गर्व गर्नुपर्छ । 

ठूलो मेहनतले चोभारमा अहिले देशकै अत्याधुनिक सुक्खा बन्दगाह बनेको छ । सयौँ कन्टेनर तथा ट्रक पार्किङको सुविधा, भन्सार जाँचपास, क्वरेण्टीन लगायतका सबै सुविधा यहाँ छन् । हेर्दा पनि हामीले विकसित देशकै झल्को दिने गरी अत्याधुनिक र सुविधा सम्पन्न बन्दगाह निर्माण गरेका छौँ । यसको गएको वर्ष अर्थात् २०७८ सालको चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन पनि भइसकेको छ ।  

सञ्चालनको अवस्था

अहिले नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गत नै चोभार सुक्खा बन्दरगाहको सञ्चालन भइरहेको छ । हामी नियमनकारी निकाय भए पनि सुरुको चरणमा यसै विकास समितिले नै बन्दरगाहको सञ्चालन गरिरहेका छौँ । बिस्तारै यसलाई विशेषज्ञता भएको र चुस्त हिसाबले सञ्चालन गर्न सक्ने गरी निजी क्षेत्रलाई दिन सकिन्छ या सरकार र निजी क्षेत्र मिलेर पनि चलाउन सकिन्छ । 

गएको चैतमा यो बन्दरगाह उद्घाटन भइसकेपछि यसको सञ्चालन त्यति धेरै उत्साहजनक रूपमा हुन सकेको छैन । अहिलेसम्म हामीले ३७ वटा गाडीका सामग्री आयात तथा निर्यात गरेका छौँ । जसमध्ये ३५ वटा गाडीबाट आयात भएको छ भने दुई वटाबाट निर्यात भएको छ । झन्डै साढे पाँच महिनाको अवधिमा जम्मा ३७ वटा गाडीको जाँचपास गर्ने र सेवा दिने विषयलाई लिएर कतिपयले यसको औचित्यतामाथि नै प्रश्न गरेको सुनेको छु । 

तर हामी सुरुवाती चरणमा छौँ । कुनै पनि निकायको सञ्चालनमा गति लिन समय लाग्छ । चोभारमा सुक्खा बन्दरगाह खुलेपछिका फाइदा, व्यापारीलाई जानकारी, यसका प्रक्रिया लगायतका विषयमा सम्बन्धित पक्षले बल्ल जानकारी पाउँदैछन् । हामीले पनि आयात/निर्यातकर्तालाई यहाँ बन्दरगाह सञ्चालनमा रहेको र उपलब्ध सेवा सुविधाबारे जानकारी गराउन थालेका छौँ । हामी योजनाबद्ध रूपमा जाँदैछौँ, अहिले यसको औचित्यमाथि प्रश्न उठाउनेहरूलाई राम्रोसँग सञ्चालन गरेरै जवाफ दिने हाम्रो योजना छ । 

नेपालमा विदेशमा सामान आयात–निर्यात गर्ने जति पनि व्यापारी व्यवसायी हुनुहुन्छ, अहिले प्रयोग गरिरहेका नाकाबाटै सेवा लिन उहाँहरू अभ्यस्त भइसक्नुभएको छ र उहाँहरूले त्यसैमा सहज मानिरहनुभएको छ ।  बिस्तारै उहाँहरूले चोभारको विशेषता थाहा पाउनुहुन्छ र यहाँ सेवा लिन आउनुहुन्छ भन्ने हाम्रो आशा छ ।  

नीतिगत समस्या सुधारको खाँचो

चोभारको सुक्खा बन्दगाह पूर्ण रूपमा सञ्चालनका लागि केही नीतिगत सुधार र सरकारको निर्देशन आवश्यक देखिन्छ । अहिले सीमा नाका नजिकै रहेका वीरगञ्ज भन्सार, सुनौली भन्सार लगायतका भन्सार कार्यालयलाई राजस्व सङ्कलनको लक्ष्य दिइएको छ । ती भन्सार कार्यालय प्रमुखले आफ्नो लक्ष्य पूरा गर्नका लागि विदेशबाट आएका ट्रक तथा कन्टेनरलाई आफ्नै भन्सार कार्यालयबाटै जाँचपास गराउने प्रयास गर्नुहुन्छ । जुन स्वाभाविक पनि हो । यदि म भन्सार प्रमुख भएको भए पनि लक्ष्य पूरा गर्नका लागि यस्तै गर्थेँ होला । 

तर सरकारले चोभारको भन्सारलाई चलायमान बनाउने हो भने सीमा क्षेत्रमा रहेका भन्सार कार्यालयलाई दिने लक्ष्यलाई पनि विचार गर्नुपर्छ । काठमाण्डौ र आसपासका जिल्लाका लागि सामग्री बोकेर विदेशबाट आएका गाडीलाई सीमा क्षेत्रकै भन्सारमा जाँचपास गर्न आवश्यक छैन । सरकारले यसमा नीतिगत पहल गर्नुपर्छ । यसका लागि मैले पनि वाणिज्य तथा आपूर्ति मन्त्रीसँग छलफल गरेको छु । मन्त्रालयका सहसचिवको नेतृत्वमा निजी क्षेत्र र सबै सरोकारवाला निकायका प्रतिनिधि रहेको एक सहजीकरण समिति बनेको छ, यो समितिबाट केही निकास आउन सक्छ । 

त्यस्तै अहिले हामीले चोभारमा सामग्री लिएर जाँचपासका लागि आउने गाडीलाई केही छुट सुविधा दिएका छौँ । सरकारले निर्णय गरेर सुरुवाती चरणमा व्यापारी व्यवसायीलाई आकर्षित गर्न थप स्किम ल्याउन सकिन्छ ।  

अर्को कुरा, चोभार बन्दगाह आउने गाडीले पनि सीमा नाकामै प्रज्ञापन पत्र भर्नुपर्ने नियम छ । नाकामै गरेको काम पुनः काठमाण्डौमा आएर पनि गर्नुपर्ने झन्झट पनि छ । यी सबै विषयलाई हामीले गहन रूपमा हेर्नुपर्छ । 

चोभार भन्सार चल्ने आधारहरू 

चोभारको सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्ने थुप्रै आधारहरू छन् । मैले पटक–पटक दोहोर्याएको छु, कुनै पनि निकायको पूर्ण सञ्चालनका लागि केही समय धैर्य गर्नैपर्छ । सुक्खा बन्दरगाह सहज रूपमा सञ्चालनका लागि काठमाण्डौ–तराई मधेस दु्रत मार्ग अर्थात् फास्ट ट्र्याकको ठूलो भूमिका रहन्छ । यो बन्दगाहको निर्माण नै फास्ट ट्र्याक हुँदै आउने गाडीलाई लक्षित गरेर सुरु गरिएको हो । हामीले निर्धारित समयमै बन्दरगाहको निर्माण सम्पन्न गर्यौँ तर फास्ट ट्र्याकको निर्माण सम्पन्न भएको छैन । म ढुक्क भएर भन्छु, फास्ट ट्र्याक सञ्चालनमा आउने बित्तिकै बन्दगाह पनि उत्साहजनक रूपमा चल्छ ।

अर्को कुरा, सरकारले नीतिगत सुधार पनि गर्दैछ । सीमा नाका नजिकै रहेका भन्सार कार्यालयबाट पनि काठमाण्डौको बन्दरगाहमा जाँचपासका लागि गाडी पठाउन सहजीकरण गर्ने तयारी भएको छ । यसका लागि मन्त्रालयले एक समिति बनाएको छ । नाका र काठमाण्डौमा हुने दोहोरो प्रकृतिका कामलाई पनि सजिलो बनाउने काम भइरहेको छ । 

हामीले व्यापारी व्यवसायीलाई फोन गरेरै बन्दरगाहबारे जानकारी दिन थालिसकेका छौँ । उहाँहरू सकारात्मक हुनुहन्छ । बिस्तारै चोभारको सुक्खा बन्दरगाहबारे सबैले थाहा पाउँदै हुनुहुन्छ । 

सञ्चालन मोडालिटीबारे पनि बहस जरुरी

केही विज्ञहरूले चोभार सुक्खा बन्दरगाह सञ्चालनको मोडालिटीबारे पनि बहस गर्नुभएको छ । उहाँहरूको बहस, चासो र चिन्ता स्वाभाविक नै हो । सरकारले मात्रै सञ्चालन गर्नुपर्छ भन्ने होइन । यसलाई निजी क्षेत्रलाई पनि जिम्मा दिन सकिन्छ । सरकार र निजी क्षेत्र मिलेर पनि चलाउन सकिन्छ । यो बन्दगाह सञ्चालनमा आएको जम्मा साढे पाँच महिना पुग्दैछ, त्यसैले अहिले नै यो सञ्चालन गर्न सकिएन, यसको उपयोगिता रहेनछ भन्ने बहस गर्नु उपयुक्त हुँदैन । हामी यसको उपयोगिता बढाउनेतर्फ विभिन्न मोडालिटीको अध्ययनमा पनि जुटेका छौँ । 

(नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलसँग अर्जुन पाेख्रेलले गरेकाे कुराकानीमा आधारित ।) 

अन्तिम अपडेट: चैत १४, २०८०

आशिष गजुरेल

गजुरेल नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक हुनुहुन्छ ।

1 Comments

  • भिम प्रसाद हुमागाई

    Sept. 1, 2022, 7:28 p.m.

    हामिले सामान ल्याउन खाेज्दा चाेभार सुख्खा बन्दरगाहा देखिदैन । कसरी अनलाइन अनुमति लिने हाे । चाेभार बन्दरगाहा चलाउन खाेजे जस्ताे लाग्दै्न । विनाकाम कसैकाे लहडमा पैसा खर्च गरेर देशकाे ढुकुटी सक्ने मात्र हाे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया