चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ, यसमा कुनै अलमल छैन : महामन्त्री थापा

 भदौ १८, २०७९ शनिबार १४:४७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेश सभा र प्रतिनिधि सभा चुनावपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । सत्तारूढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आउँदाे चुनावपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाइ थियो । 

'प्रशासन व्यवस्थापन र विकास केन्द्र' ले शनिवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले केही दिनभित्र गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा टुङ्गो लाग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । महामन्त्री थापाले गठबन्धन दलहरूबीच सिट बाँडफाँट टुङ्गिने बित्तिकै उम्मेदवार तय गरेर चुनावको अभियानमा जुट्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि चुनावकाे तयारीमा जुट्दैछौँ । यो पटक हामी चुनाव जित्छौँ । हाम्रै नेतृत्वमा सरकार पनि बन्छ । त्यसमा पनि कुनै अलमल भएन ।’

महामन्त्री थापाले आफ्नो पार्टीका उम्मेदवारले जितेकाे पालिकालाई सशक्त बनाउनका लागि पार्टीले केही दिनभित्रै 'स्थानीय सरकार सबलीकरण तथा अनुगमन इकाइ' गठन गर्ने बताउनुभयो । उहाँले पालिकालाई नागरिककाे पक्षमा काम गराउन पनि पार्टीभित्र त्याे इकाइकाे आवश्यकता रहेको पनि स्पष्ट पार्नुभयो । 

महामन्त्री थापाले सरकार बनाउनुभन्दा पनि नागरिककाे पक्षमा काम गर्नु ठूलो कुरा भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी गरेर अघि बढ्न आफ्नो पार्टीले काम गरिरहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: असोज १७, २०८०

तपाईको प्रतिक्रिया