मान न अपमान : ठालुहरुको सुरुवाल तानातान

 भदौ १९, २०७९ आइतबार ८:४०:२१ | मिलन तिमिल्सिना
unn.prixa.net

ए समयमै आउनुभयो त ! नमस्कार है, नमस्कार ।

के को नमस्कार ? किन नमस्कार ? हिजोसम्म तिरस्कार, आज नमस्कार ? तिमीहरुका नमस्कार खान आएको होइन म, बुझ्यौ ? किन बोलाएको हो, ल भन ।

सत्कार र पुरस्कार मात्र खान बानी परेकालाई किन रुच्थ्यो त नमस्कार । नमस्कार नै स्वीकार छैन भने हाम्राे पनि अस्वीकार ।

अस्ति नै गरिसक्यौ नि त अस्वीकार । आफूले भनेअनुसार आदेश थाप्ने बेलामा चाहिँ स्वीकार । त्यही फैसलाको बलमा खान पाउने ठाउँमा पुगेपछि चाहिँ अस्वीकार !

ल ल धेरै नबोलेकै राम्रो ।

बोल्नै बोलाएपछि किन नबोल्नु त । ल भन मैले के भन्नुपर्यो ?

कुरा त गर्दै गरौँला नि । कुरो सुरु गर्नु पहिले लवाइ देखेर पो अचम्म लागेको त । पहिले पनि उस्तै, अहिले पनि उस्तै । दौरासुरुवाल, कोट, टोपी सबै सहिसलामत नै देखिन्छन् । हामीले उहिल्यै फुकालेर फालेको हैन र भन्या ?

भो भो फूर्ति नलगाउ । तिमीहरुका बुरुकबुरुकले मेरो रौँ पनि हल्लाएको छैन । केही भएको छैन मलाई । झन् आनन्द भएको छ । सरकारले बस्न दिएको घर छोड्न परेको छैन । काम गर्न जान परेको पनि छैन । खायो, सुत्यो, बस्यो, मोबाइल खेलायो । तिमीहरुको चर्तिकला हेर्यो । मलाई त झन् गज्जब भएको छ ।

किन हुन्नथियो त गज्जब ! न्यायालयको मान मर्दन सिरिखुरी सकिहाल्यौ । आसेपासे र नातागोतालाई ठाउँ कुठाउँमा पुर्याइसक्यौ । मुठाका मुठा पैसा कुम्ल्याइ सक्यौ । आफूखुशी फैसला गर्यौ । हामीलाई अन्यायमा पार्यौ ।

अँ खुबै अन्यायमा पर्यौ नि ! मेरै फैसलाका कारण अहिले झण्डा हल्लाएर अरुलाई डण्डा चलाउन पाएका छौ । उपरखुट्टि लगाएर फेद न टुप्पाको गफ हान्न पाएका छौ । कुर्सीमा पुगेर उल्टै आसेपासे र नातागोताको खल्ती भर्न पाएका छौ । भुँडी चरक्क हुनेगरी जे पायो त्यै हसुर्न पाएका छौ । मैले तिमीहरुको पक्षमा फैसला नगरेको भए तिमीहरुको हालत के भैसक्थ्यो ? अहिले कहाँ हुन्थ्यौ ? त्यही सडकमा पलेँटी कसेर ‘हामी यहाँ छौँ’ भनेर रुमल्लिरहेका हुन्थ्यौ । कति त बिलाएर सकिन्थ्यौ । मेरै फैसलाका कारण अहिले यतिसम्म फूर्ति गर्न पाएका छौ । जसले गुन लगायो, उसैमाथि बैगुन !

भो भो धेरै फूर्ति नगर । हाम्रो लागि तिमीले त केही पनि गरेनौ । हामीले जे जे भन्यौँ, त्यहीत्यही गर्ने त अरु नै थिए । उनीहरुकै कारण अहिले हामी यो ठाउँमा पुगेका हौँ । उनीहरुले उबेला हामीलाई गुन लगाए, अहिले हामीले उनीहरुको गुन तिर्यौँ। त्यसैले त तिम्रो कोट फुकालेर उनीहरुलाई लगाइदिएको नि हामीले ।

मैले फुकालेको कोट लगाएर मख्ख पर्नेको हविगत हामीलाई पनि थाहा छ । तिमीहरुले भन्दा बढ्ता मैले चिनेको छु उनीहरुलाई । म बसिरहेको कुर्सीमा बस्न के के मात्र गरेनन् ? मुख मिठ्याउँदै र सुँघ्दै कहाँसम्म पुगेनन् ? आफ्नो गोजी भर्न को कोलाई मात्र खुशी पारेनन् ? सबै भनिदिनुपर्यो मैले ?

कसले गर्यो त्यसो ? जे पायो त्यही भन्ने ? प्रमाण देखाउन सक्छौ ?

अनि मैले त्यसोत्यसो गरेको भन्ने प्रमाण चाहिँ तिमीहरुसँग छ ? ल देखाउ ।

ठूला कुरा नगर । हामीले जे जे सोध्छौँ त्यही मात्र भन । अरु भन्ने होइन ।

किन नभन्ने ? तिमीहरु को हौ मलाई प्रश्न सोध्ने ? बयान लिने ? बयान त हामीले हो लिने !

उबेला तिमीले लिन्थ्यौ होला । अहिले हामीले हो लिने । ल भन त्यसो किन गरेको ?

तिमीहरुले चाहिँ हुने/नहुने, मिल्ने/नमिल्ने सबैथोक गर्न हुने ? तिमीहरुकै तिनै कोटवालाले पनि भए/नभएको सबैथोक हसुर्न हुने ? अनि मैले चाहिँ किन नहुने ? तिमीहरुले पनि खायौ । तिमीहरुका तिनीहरुले पनि खाए । अनि दोषजति मैले मात्र लिने ? मैले चैँ खान पनि छाड्नुपर्ने ?

हामीले मिल्छ । हाम्रो लागि काम गर्नेले पनि मिल्छ । तर तिमीले मिल्दैन । बुझ्यौ ।

त्यसो हैन । मैले मिल्छ । मेरो चाहनाअनुसार काम गर्ने त्यो पक्षले मिल्छ । तर मेरो खेदो खन्ने तिमीहरुले चाहिँ यसो गर्न मिल्दैन । बुझ्यौ ? त्यसैले मलाई प्रश्न सोध्ने होइन, मैले चाहिँ तिमीहरुलाई प्रश्न सोध्ने हो । यतिका महिनासम्म मेरो कोट फुकालेर राख्यौ, वास्ता गरेनौ, अहिले चाहिँ किन बोलाउनुपर्यो ल भन ।

बोलाउन त मन थिएन नि । अनुहार पनि हेर्न मन थिएन । तर के गर्नु यसो नियम कानुन पनि मानि दिए जस्तो गर्नुपर्यो ।

कुन नियम कानुनको कुरा गरेको ? मलाई यतिका महिनासम्म झुलाउन पाउने नियम कहाँ छ, देखाउ ।

त्यो त मिल्न सक्नेसम्म मिचेको नि । सबै मिच्न त भएन नि नियमलाई । अलिअलि भए पनि नियमकानुन अनुसार चलेको देखाउनु पनि पर्यो नि । त्यसैले बोलाएको । पहिले कोट मात्रै फुकालेका थियौँ । अब दौरा पनि फुकाल्न बोलाएको ।

भो भो धेरै फूर्ति नगर । तिमीहरुले मेरो के दौरा खोल्छौ ? तिमीहरुका खुस्केका सुरुवालमा इजार समेत मैले बाँधि दिएको भन्ने नबिर्स ! मैले धेरैका सुरुवाल खोल्नुछ । म बसेको ठाउँमा बसेकाहरुको शरीरमा कपडाको टुक्रा पनि बाँकी नराखिकन खोल्नुछ । ल हेर यी तिनीहरुका सुरुवाल, तान्दिउँ । देख्यौ कतिसम्म लाजशरम नभएका छन् तिनीहरु । तिम्रो पनि खोल्दिउँ ?

ए के गरेको ? नगर न भन्या ? सुरुवाल नै चाहिँ नखोल न । हामीले पनि दौरासुरुवाल त खोलिसकेका थिएनौँ नि तिम्रो । कोट मात्रै खोलिदिएका थियौँ। त्यहाँमाथि अहिले आउँदा मैलोमैलो भए पनि कोट लगाएरै आएका छौँ । हामीले अलिअलि लाज त राखेका थियौँ नि । तिमीले त नाङ्गेझार नै पार्न खोज्यौ त !

किन नपार्नु त ? सबैलाई एकएक गरेर नाङ्गेझार बनाउने हो । उ हेर त्यसको नाङ्गो रुप ! तिम्रा नेताको त के कुरा गर्नु ? दौरा सुरुवालको त के कुरा, भित्री वस्त्र समेत खोलिदिन सक्छु । खोल्दिउँ ?

साँच्चै खोल्ने नै हो त ? ल आउ कसले कसलाई कतिसम्म नाङ्गो पार्न सक्छ हेर्ने हो त ? लौ जा तिम्रो दौरा पनि खोलिदिएँ । सुरुवालको इँजार पनि ! 

तिम्रो सुरुवाल खोल्छु ।

खै खै तिम्रो त कट्टु नै खोल्दिन्छु ।

ए ए के गरेको ? सबैले सबैको खोल्दै जाने हो भने त सबै नाङ्गै हुने भइयो त !

अनि मलाई किन नङ्ग्याएको त ?

तिमीले किन रिस उठाएको त ?

साँच्चै हो ?

हो ल आइज.......... !
.........................
एक–अर्काको सुरुवाल तानेर नाङ्गेझार बनाउने यो प्रतिस्पर्धा संसद्को महाअभियोग सिफारिस समितिको सवालजवाफको दृश्यसँग मेल खान गएमा संयोग मात्रै हुनेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया