रञ्जन कोइरालाको फैसलामा विवेक प्रयोग गर्दा गल्ती भएको छ, माफी माग्न तयार छु : जबरा

 भदौ १९, २०७९ आइतबार १३:२५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्वीकार गर्नुभएको छ । आज आइतवार महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा जबराले यस मुद्दाको फैसलामा आफूलाई गल्ती महसुस भएको र यसै कारण आफूलाई महाअभियोग लगाइएको हो भने नागरिकसँग माफी माग्न तयार रहेको बताउनुभएमो हो ।

‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन् । उहाँलाई जन्मकैद भएको हो । न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ । तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ । यो पारिवारिक मुद्दा हो । नाबालक छोराहरू पनि इजलासमा उपस्थित भए । नाबालकहरूको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको हो । त्यसमा विवेक प्रयोग गर्दा गल्ती भएको छ’, समितिमा जबराले भन्नुभयो । उहाँले रञ्जन कोइरालाको मुद्दाको फैसलाको आधारमा महाभियोग लगाइएको हो भने आफूले गरेको त्यो गल्तीमाथि प्रायश्चित भएको पनि बताउनुभयो ।  

संसदीय सdlतिले श्रीमतीको हत्या गरेको जान्दा जान्दै पनि त्यस्तै गम्भीर र सङ्गीन मुद्दाको पुनरावलोकनमा हेलचक्रयाइँ गरेको र स्वार्थ बाझिने गरी कोइरालालाई उन्मुक्ति दिएको तथा फैसलाको बारेमा मिडियामा बोल्दै हिँडेको विषयमा प्रश्न सोधेको थियो । निलम्बित प्रधानन्यायाधीश जबराले रञ्जन कोइरालालाई कैदमुक्त गर्दा परिवारको प्रभावमा परेर गल्ती गरेको बताउँदै यदि त्यसैलाई आधार मानेर अभियोग लगाएमा आफूले सहने बताएको नेपाली कांग्रेसका सांसद् एवम् महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले बताउनुभयो । 

डीआईजी कोइरालाले झन्डै नाै वर्षअघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जङ्गलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए । पत्नी हत्याको अपराध सावित भए पनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए । तर फैसला गैरकानुनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन ११ मा निवेदन दिएकोमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको इजलासले २० वर्ष नै कैद कायम गरिदिएको थियो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • विनोद कार्की

    Sept. 6, 2022, 7:37 a.m.

    उहाँले फैसलामा गरेको गल्ती स्वीकार गर्नु र प्रायश्चितको लागि माफी माग्नु उत्तम हो र पनि पुनः स्व विवेक प्रयोग नहोला भन्न सकिन्न। जघन्य र गम्भिर प्रकृतिका मुद्धा अपराधहरुमा क्षमा दिदै जाने हो भने न्यायमा विचलन आउने र पिडकको हौसला बढन जाने हुन्छ पछिल्लो फैसलाले सच्चाएकोमा न्यायमा आशा पलाएको छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया