‘अपमानजनक’ नाम सच्चियाे, अब फणिन्द्र बादी

 भदौ १९, २०७९ आइतबार १८:१०:१० | अमर सुनार
unn.prixa.net

दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखले फणिन्द्र बादीको नागरिकतामा भएको अपमानजनक नाम सच्याएको छ । दुल्लु नगरपालिका वडा नम्बर १ का फणिन्द्र बादीको नाम नागरिकतामा फ्याउरो बादी रहेकोमा प्रशासन कार्यालयले सच्याएर फणिन्द्र बादीको नाममा नागरिकताको प्रतिलिपि दिएको हो ।

गृह मन्त्रालयको निर्देशनअनुसार प्रक्रिया पुर्‍याएर नाम परिवर्तन गरिदिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । २०६० सालमा नागरिकता लिएका बादीले नागरिकतामा अपमानजनक नाम रहेको कारण उहाँलाई गाउँका समूहमा नाम राख्दा, मतदान गर्न र बैंकमा खाता खोल्नेजस्ता काममा नागरिकता देखाउन गाह्रो लाग्थ्यो । अहिले नाम सच्चिँदा खुसी लागेको उहाँ बताउनुहुन्छ । ‘नागरिकतामै फ्याउरो बादी लेखिएको कारण जिस्काउनलाई पनि चिया पसल र चौतारामा नाम सोध्थे, म भन्थेँ अनि सबै गलल हाँस्थे’, फणिन्द्रले भन्नुभयो, ‘अब त जसले सोधे पनि निर्धक्क फणिन्द्र बादी भन्छु ।’

जिल्ला प्रशासन कार्यालय दैलेखले गएको महिना पनि नागरिकतामा कुकुर कामी लेखिएका कविराम कामीको नागरिकतामा नाम सच्याइदिएको थियो । गृह मन्त्रालयको निर्देशनपछि अहिलेसम्म जिल्ला प्रशासन कार्यालय दैलेखले तीन जना र जिल्ला प्रशासन कार्यालय बाग्लुङले एक जना गरी चार जानको नाम सच्याएकाे छ । अपमानजनक नाम सच्याइसकेपछि श्रीमान्–श्रीमती, छोराछोरीसमेत परिवारजनको नागरिकतामा पनि कसरी सच्याउने भनेर गृह मन्त्रालयले छुट्टै परिपत्र गरेको छ । त्यसअनुसार दैलेखमा कविराम कामीको एक छोराको नागरिकतामा बुबाको नाम कोलममा नयाँ सच्चिएको र कर्णबहादुर विकको श्रीमतीको नागरिकतामा पतिको नाम सच्याइएको छ ।

नाम सच्याउनका लागि नागरिकतामा भएकाे नाम अपमानजनक भएको भनी आफू बसेको पालिकाको वडाको सिफारिस, सर्जिमिनसमेत नागरिकताको प्रतिलिपि अनुसूची फाराम, सक्कल नागरिकता र निवेदन लिएर जिल्ला प्रशाासन कार्यालय जानुपर्ने प्रक्रिया तोकिएको छ । त्यसपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत बुझ–विस्तार गरी प्रतिलिपि दिने गरिएको छ । 

नागरिकता वाहकको नाम सच्याइसकेपछि मतदाता नामावली, बैंक खाता, राष्ट्रिय परिचपपत्र, राहदानीसमेत सबै ठाउँमा सच्याउने विधि र प्रक्रिया पनि गृह मन्त्रालयको परिपत्रअनुसार सच्याउने काम भइसकेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Shyam Khadka

    Sept. 4, 2022, 8:15 p.m.

    गृहमन्त्रालयको निर्देशन अनुरुप अपमानजनक नागरिकता त सच्चिने भयो तर निजको शैक्षिक प्रमाणपत्र रहेको नाम सचिन्छ कि नाई जानकारि पाय आभारी हुने थियौ।

  •  0 Reply

तपाईको प्रतिक्रिया