मुख्यमन्त्री पाण्डेलाई राष्ट्रिय सभा अध्यक्षकाे चुनौती : पार्टीको ह्विप लागे पनि गलतलाई गलत भन्ने आँट गर्नुस्

 भदौ २०, २०७९ सोमबार १६:२२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पार्टीको ह्विप लागे पनि गलत कुरालाई गलत भन्न सक्ने आँट गर्न बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई चुनौती दिनुभएको छ । 

सोमवार बाग्मती प्रदेशको राजधानी हेटौँडामा भएको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष तिमिल्सिनाले सङ्घीय ऐनहरू केन्द्र सरकारबाट पास भइरहँदा प्रदेश र पालिकाकाे अधिकार खोसिने गरी आएको खण्डमा गलत हो भन्ने पक्षमा संसदमा हात उठाउनुपर्ने बताउनुभयो ।

यही कार्यक्रममा बोल्ने क्रममा बाग्मतीका मुख्यमन्त्री पाण्डेले भर्खरै पारित काठमाण्डाै उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीयता र संविधान विपरीत भएको भन्दै त्याे विधेयक किन पारित गरेको ? भनी राष्ट्रिय सभालाई प्रश्न गर्नुभएको थियो । राष्ट्रिय सभा आफैँले संविधानको, सङ्घीयताको विरुद्धमा गएर विधेयकहरू पारित किन गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्विप नलाग्ने गरेर सांसदहरूलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले बनेको गठबन्धनको सरकार टुट्ने अवस्थामा सङ्घीयताको हक, अधिकार नहेरि गठबन्धन बचाउनका लागि किन हात उठाउनुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।  

अध्यक्ष तिमिल्सिनाले दलको आदेश र ह्विपका कारण सांसदहरूले पद खोसिने डरले पनि सङ्घीयताको अधिकार खोस्ने विधेयकमा सहमति जनाइरहेको दाबी गर्नुभयो । उहाँले सरकारले ल्याएका कुनै पनि विधेयक फेल भएमा सरकार नरहने भन्ने चिन्ताले सबै विधेयकमा सांसदहरू पार्टीको ह्विपका कारण सहमति जनाउन बाध्य बनेको उल्लेख गर्दै ह्विप नलाग्ने गरेर सांसदहरूलाई स्वतन्त्र ढङ्गले छोड्नुपर्ने बताउनुभयो । उहाँले भर्खरै आएको नागरिकता विधेयकमा पनि संसदमा छलफलका क्रममा विरोध जनाएका सांसदहरू नै पास गर्ने बेलामा संसदबाटै भागेको बताउनुभयो । उहाँले कुनै डरविना निःस्वार्थ बनेर काम गर्ने हो भने सङ्घीयता र गणतन्त्र बचाउन सकिने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीज्यू तपाईँलाई अलिकति अफ्ठ्यारो परोस्, गठबन्धन खत्तम हुने हो भने तपाईँ गर्नुहुन्छ कि गर्नुहुन्न ? मलाई यो भन्नुहोस् । त्यही कारणले हो, हामी एक जनाको कमजोरीले होइन । दलको आदेश आउँछ, बिल फेल भयो भने सरकार गिर्छ, हाम्रो परम्परा यस्तो छ । सरकारले ल्याएको बिल फेल हुनुभन्दा सरकार बचोस्, सङ्घीयता जेसुकै होस् भनेर हात ठड्याउने हो । जहाँको पनि व्यवहार त त्यही हो नि । यसलाई किन लुकाउने ? सङ्घीयताको बारेमा वकालत गर्नेहरू पनि सङ्घीयतालाई बलियो बनाउने कुरा छोडेर हात उठाउनुहुन्छ । यस कारणले आएको हो, माननीय मुख्यमन्त्रीज्यू, यसमा भ्रम नपरोस् । यो राष्ट्रिय सभाका माननीय सदस्यहरूको कारणले होइन, सरकारको कारणले आएको हो । ह्विप नलाग्ने गरेर यस्ता कुरामा सांसदहरूलाई स्वतन्त्र ढङ्गले छोड्नुपर्छ । त्यो आँट गर्नुपर्छ, त्यो हिम्मत ल्याउनुपर्छ । नेताले भोलि टिकट नदेला, मन्त्री नदेला, बनेको पद खुस्काइदेला । यस्तो प्रलोभनमा हामी सबै लोभी–पापी भएका छौँ । एकातिर बोल्छौँ, स्वार्थका लागि अर्को गर्छाैँ । जे बोल्छौँ, त्यो गर्ने बोलौँ । निःस्वार्थी बनौँ, स्वार्थी नबनौँ, गणतन्त्र, सङ्घीयता सबै सफल हुन्छ ।’

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अहिले सङ्घीयता ठिक कि बेठिक भनेर अन्तरक्रिया गर्ने बेला नभएको उल्लेख गर्दै सबलीकरण कसरी गर्ने भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउनुभयो । अहिले सङ्घीयताको सैद्धान्तिक कुरा गर्ने बेला नभइ सङ्घीयता आवश्यक छ भनेर प्रमाणित गर्नुपर्ने बेला भएको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया