अब आउने चुनावपछि देशमै रोजगारी मिलोस् !

 भदौ २०, २०७९ सोमबार १६:५१:३७ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

फाइल तस्बिर

अनिता बन, बर्दिया/हाल दुबई

म विगत तीन वर्षदेखि दुबईमा रोजगारीमा छु । होटल लाइनमा काम गर्दैछु । मेरो घरमा ४ वर्षकी छोरी छे । म पहिलोपटक विदेश जाँदा मेरो छोरी १७ महिनाको थिई । यदि यहाँ रोजगारीको अवसर हुन्थ्यो भने पढेलेखेको युवा विदेशिनुपर्ने अवस्था हुने थिएन । मैले पनि मास्टर्स गरेको छ । सर्टिफिकेट बोकेर मैले जागिर पाइनँ । आखिरमा मैले दुबई गएर काम गर्न पर्‍याे ।

हिजो घरबाट हिँड्दा छोरीले मलाई विदेश नजानु भनी । मलाई पैसा पनि चाहिँदैन, मिठो खाने कुरा पनि चाहिँदैन, बोर्डिङ पढ्दैन मलाई छोडेर विदेश नजानु भन्दा मेरो आँखाबाट आँसु खस्यो । छोरीको प्रश्नको मसँग उत्तर नै भएन । म यो चाहन्न कि मजस्तै सबै आमाहरु विदेशिनु परोस् । सबैको लाउँलाउँ-खाउँखाउँ भन्ने कलिला बच्चाहरु छोड्न परोस् ।

नेताहरुलाई त हामी भोट दिएर जिताउँछौँ तर जितेपछि हामीलाई रोजगारी दिएको ख्वै त ? चुनावको बेला मासुभात खुवाउँछन्, भोज भतेर गर्छन्, गाडीमा ल्याउँछन्, पुर्याउँछन् । तर ख्वै त पछि केही गरेको ? ख्वै त हामीलाई रोजगारी दिएको ? केही नभए पनि रोजगारीको सानो वातावरण यता बनाइदिएको भए यसरी विदेशिनुपर्ने त थिएन नि हामीले । विदेशमा दिन सक्ने जति पारिश्रमिक त दिन नसक्लान् तर त्यसको ७५ प्रतिशत पनि पारिश्रमिक दिने व्यवस्था गरे हामी किन जानुपर्थ्याे ?

यस्तै वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई अनुदान दिने, ऋण दिने भन्छन् । तर ख्वै त हामीले पाउन सकेको । म यहाँ छुट्टीमा आएको थिएँ । कतै ऋण पाइएला र यहीँ केही गर्नुपर्छ भन्ने सोचेको थिएँ । तर यहाँ केही पनि पाइएन । एकदमै उच्च ब्याजदरमा छ ऋण पनि । यदि दिनु छ भने मिडियामा र कागजमा मात्र उल्लेख नहोस्, संसदमा मात्र बहस् नहोस् । व्यहारमा लागू होस् ।

यस्तै भइराख्यो भने अबको दुई तीन वर्षमा नेपालमा युवाहरु भेटिने छैनन् । त्यसैले अब आउने चुनावमा उम्मेदवार हुनुभएका नेताहरुलाई नेपालमै रोजगारीका अवसर सिर्जना गर्न म आग्रह गर्छु । आफ्नै देशमा केही गर्न सक्ने वातावरण बनाउन म आग्रह गर्छु ।

म त अहिलेसम्म पनि टिकट क्यान्सिल गरेर घर फर्किन पाए हुन्थ्यो भन्ने लाग्छ । तर के गर्ने बाध्यता छ । देशमै केही गर्न त मन छ नि तर मैले १४ पटक लोकसेवाको जाँच दिएँ नाम निस्केन । अनि अहिले कुनै व्यवसाय गर्नको लागि ब्याक सपोर्ट छैन । श्रीमान पनि दुबईमा हुनुहुन्छ । म आर्थिक रुपमा बलियो छैन । हामीजस्ताको आडभरोसा भनेको सरकार हो, सरकार आफै भ्रष्ट छ । त्यसैले मसँग कुनै उपाय रहेन र परदेशिन बाध्य भएँ । अब आउने सरकारले हामीहरु जस्तालाई परदेश जानबाट रोकोस् । अन्तिम अवस्थामा पनि भनोस् कि तिमीहरु नजाऊ, हामी देशमै रोजगारी दिन्छौँ ।

अन्तिम अपडेट: चैत ५, २०८०

1 Comments

  • अजिल ज्ञवालि

    Sept. 5, 2022, 8:43 p.m.

    म हाल कतार बाट नेपाल मा हामिले बिदेस मा कमाउनि रकम को 70% नेपाल मा मिल्छ भनि मनि आफ्नै देसमा काम गर्न तयार छु नत्र त आफ्नो देस को कमाइ खान नि पुग्दैन 😥 अब आउनि सर्कार ले हामि नेपाली हरुलाइ बिदेस जान बाट रोकियोस देस मै रोजगार मिलोस भन्छु म

  •  0 Reply

तपाईको प्रतिक्रिया