महारानी एलिजाबेथ द्वितीयलाई विश्वभरका नेताले यसरी सम्झिए

 भदौ २४, २०७९ शुक्रबार १३:५८:१६ | एजेन्सी
unn.prixa.net

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति विश्वभरका नेताहरूले दुःख व्यक्त गरेका छन् । विश्व राजनीतिमा ठूलो प्रभाव राखेको बेलायती राजपरिवारमा परेको शोकप्रति विश्वभरका धेरै देशका नेताहरूले सहानूभूति व्यक्त गरेका हुन् ।

बेलायतको इतिहासमै सबैभन्दा लामो समय राजगद्दीको नेतृत्व गरेकाले पनि उहाँको निधनप्रति विश्वको ध्यान खिचिएको हो । महारानी एलिबेथ द्वितीयको बिहीवार ९६ वर्षको उमेरमा निधन भएको बेलायती राजदरबारले घोषणा गरेको छ । 

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले उहाँको निधनको खबर सुनेर आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ । ‘विश्वव्यापी नेतृत्व गर्नुभएकी र सबैलाई प्रेरणाको स्रोत बन्दै आउनुभएकी महारानीको निधनले मलाई दुःखी बनाएको छ, बेलायती राजपरिवार र बेलायती जनताप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछु’, उहाँले जारी गर्नुभएको शोक वक्तव्यमा लेखिएको छ । 

संयुक्त राष्ट्र सङ्घप्रति महारानी सधैँ असल साथीको रूपमा रहनुभएको स्मरण गर्दै महासचिव गुटेर्रेसले राष्ट्र सङ्घले एउटा असल साथी र असल अविभावक गुमाएको उल्लेख गर्नुभएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेरणादायी नेतृत्वको रूपमा स्मरण गर्नुभएको छ । उहाँले प्रकाशित गर्नुभएको शोक वक्तव्यमा महारानीको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सबैप्रति सहानुभूति व्यक्त गरिएको छ । सन् २०१५ र सन् २०१८ मा आफूले बेलायत भ्रमणका क्रममा महारानी एलिजाबेथ द्वितीयलाई भेटेको स्मरण पनि उहाँले गर्नुभएको छ । ‘उहाँको त्यो आत्मियता, स्नेह र अविभावकत्व मैले कहिले भुल्न सक्दिन’, प्रधानमन्त्री मोदीले लेख्नुभएको छ ।   

चिनियाँ राष्ट्रपति सी जिनपिङले महारानी एलिजाबेथ द्वितीयको निधनपछि शुक्रवार ब्रिटिश सरकार र नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्नुभएको छ ।
चीन सरकार र चिनियाँ नागरिकको प्रतिनिधित्व गर्दै र आफ्नै नाममा सी जिनपिङले गहिरो समवेदना व्यक्त गर्नुभएको छ । महारानीको निधन ब्रिटिश नागरिकका लागि ठूलो क्षति भएको सीले बताउनुभएको विज्ञप्तिमा जनाइएको छ । 

चिनियाँ राज्य सञ्चारमाध्यमले जारी गरेका विज्ञप्तिमा महारानी एलिजाबेथ चीन भ्रमण गर्ने पहिलो बेलायती राजसंस्थाका प्रमुख हुनुहन्थ्यो । बेलायती इतिहासमा सबैभन्दा लामो समयसम्म राजसंस्थाको सेवा गर्ने अर्थात् उहाँको शासनकालको प्रशंसा गरिएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी प्रथम महिलाले पनि बेलायती महारानीको निधनको खबरले आफूहरट्लाठई दुखित बनाएको उल्लेख गर्नुभएको छ । उहाँहरूले अमेरिकामा रहेको बेलायती दूतावासमा राखिएको शोक पुस्तिकामा आफैँ शोक वक्तव्य लेख्नुभएको थियो । केही मिनेट लगाएर लेखिएको वक्तव्यमा उहाँसँग भएका भेटवार्ताको पनि स्मरण गरिएको छ । महारानी एलिजाबेथ द्वितीयलाई एउटा असल, परिवक्व अविभावको रूपमा उहाँहरूले उल्लेख गर्नुभएको छ । 

वक्तव्य लेखेर हस्ताक्षर गरेपछि राष्ट्रपति दम्पतीले बेलायती राजदूतलाई आफूहरू बेलायतको दुःखमा साथसाथै रहेको बताउँदै सहानूभूति व्यक्त गर्नुभएको थियो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि शोक व्यक्त गर्दै उहाँजस्तो व्यक्तिको खाँचो विश्वलाई परिरहने उल्लेख गर्नुभएको छ । बेलायतको महामारी भए पनि उहाँले विश्वलाई नै माया, प्रेम र प्रेरणा दिइरहनुभएको पुटिनद्वारा जारी वक्तव्यमा लेखिएको छ । उहाँको निधनप्रति क्यानडाले पनि दुःख व्यक्त गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सामाजिक सञ्जाल ट्विटरमार्फत शोक व्यक्त गर्नुभएको हो । उहाँले क्यानडाका नागरिकले महारानीलाई सधैँ स्नेही पात्रको रूपमा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ । क्यानडाको इतिहासमा उहाँ एउटा मुख्य पात्रको रूपमा रहेकाले उहाँले क्यानडालाई गर्नुभएको सेवाप्रति सबै नागरिक ऋणी रहेको ट्रुडाेकाे भनाइ छ ।

अस्ट्रेलियाका राष्ट्रपति एन्थोनी अल्बानीजले पनि शोक वक्तव्य प्रकाशित गर्दै यस दुःख समयमा अस्ट्रेलियाका नागरिक बेलायती नागरिकको साथमा रहेको उल्लेख गर्नुभएको छ । 

फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोनले पनि बेलायती महारानीलाई एकताको प्रतीकको रूपमा स्मरण गर्नुभएको छ । ‘बेलायती जनतालाई एकताको सूत्रमा बाँध्ने पात्रको रूपमा भूमिका खेल्नुभएकी महारानीको निधनले हामीलाई दुःखी बनाएको छ’, उहाँले जारी गर्नुभएको वक्तव्यमा लेखिएको छ । 

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनस्कीले पनि उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल सबैलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गर्नुभएको छ । 

त्यसैगरी पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, इजरायलका प्रधानमन्त्री याइर लापिड, न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्न, इटलीका प्रधानमन्त्री मारियो ड्राघी, पोल्यान्डका प्रधानमन्त्री माटेउज मोराविस्की लगायतका देशका राष्ट्र तथा सरकार प्रमुखहरूले उहाँको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया