जीवनमा आइपर्ने घटनाहरूलाई सामान्यरूपमा लिऔं

 भदौ २५, २०७९ शनिबार १०:१३:४८ | रामकुमार थापा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित नेपालमा विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । यो खबर पढिरहँदा पनि विश्वमा कसैले आत्महत्या गरिसकेका छन् । आत्महत्या भनेको जानीजानी आफैँले आफूलाई हत्या गर्नु वा मार्नु भन्ने बुझिन्छ । मानिस बाँच्नका लागि कत्ति सङ्घर्ष गर्न चाहन्छ । बिरामी हुँदा निको हुन चाहन्छ, विपत्ति आउँदा आफूलाई बचाउन चाहन्छ र सधैँ आफूलाई बाँच्न पाए हुन्थ्यो भन्ने कामना गर्दछन् । तर केही मानिस मर्नका लागि आफूले आफैँलाई डोरी लगाउँछन्, विष सेवा गर्छन्, हाम फाल्छन् र आफूले आफैँलाई हतियार प्रयोग गर्छन् । मानिस जन्मेपछि मृत्यु निश्चित छ । तर मृत्यु निश्चित हुँदाहुँदै पनि किन मानिस आत्महत्या गरेर मर्नु अगाडि नै आफैँलाई मार्न चाहन्छ ? यो गम्भीर विषय हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार प्रत्येक वर्ष अन्दाजी सात लाख जना मानिसले आत्महत्या गर्ने गरेका छन् । प्रत्येक ४० सेकेन्डमा एक जनाको आत्महत्या हुने गरेको डब्ल्यूएचओको प्रतिवेदनमा छ । १५ देखि २९ वर्षको उमेरलाई बढी जोखिमको रूपमा लिइन्छ । यसै उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो कारण बनेको छ । नेपालमा पनि प्रत्येक दिन लगभग १६ जनाले आत्महत्या गर्ने गरेका छन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६ दशलमव ५ प्रतिशत व्यक्तिहरूमा आत्महत्याको सोच र योजना रहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ हजार आठ सय ३० जनाले आत्महत्या गरेका छन् । जुन औसतमा दिनमा १८ जनाभन्दा बढी हो । आत्महत्या रोकथाममा सरोकारवाला निकायले ध्यान नदिँदा समस्या दिनहुँ बढिरहेको छ ।

आत्महत्या के हो ? 

आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्या हो । आत्महत्या जुनसुकै उमेर, समुदाय र आर्थिक अवस्थाका व्यक्तिहरूले गर्न सक्दछन् । आफ्नो जीवन आफैँ समाप्त पार्ने योजना बनाउनु वा विभिन्न माध्यमबाट आफ्नो जीवनलाई आफैँले समाप्त गर्न खोज्छ भने त्यो नै आत्महत्या हो । जीवन बाँच्नुमा भन्दा मर्नुमा फाइदा देखेपछि मानिसले आत्महत्या गर्ने गर्दछन् । आफ्नो समस्या निराकरण वा समाधान गर्न नसकेपछि व्यक्तिले यस्तो काम गर्ने गर्दछ । 

आत्महत्याका कारणहरू :  

आत्महत्याको कारण यही हो भनेर किटान गरेर भन्न सक्ने अवस्था छैन । आत्महत्या विभिन्न कारणहरूको अन्तरक्रियाले हुन सक्दछ । यसमा मनोसामाजिक कारण, जैविक कारण, मानसिक स्वस्थ्य समस्या र दीर्घकालीन रोगहरू प्रमुख कारणको रूपमा रहेको पाइन्छ । सामान्यतया उदासिन भएको व्यक्तिले आत्महत्या धेरै गर्छन् भनिन्छ । आत्महत्या गर्नुको कारण भनेको जीवनमा नसोचेको घट्ना हुनु, प्रियजन गुम्नु, सम्बन्धविच्छेद हुनु, दीर्घ रोग लाग्नु, जागिरबाट एक्कासी निकालिनु, आर्थिक नोक्सानी हुनु, ऋण लाग्नु, घर झगडा हुनु, लाञ्छनामा पर्नु वा विभेदमा पर्नु, प्रेम सम्बन्ध असफल हुनु लगायत विभिन्न कारणहरू रहेका छन् । 

कसैले आत्महत्या गर्दैछ भनेर कसरी पहिचान गर्ने ?  

१. निराश, असहाय, बेकार महसुस गर्ने 
२. एक्कासी धेरै खुसी हुने वा एक्कासी धेरै दुःखी हुने 
३. आफैँलाई हानी पुर्याउने तथा जोखिमपूर्ण व्यवहार गर्ने 
४. मृत्यु बारे कुरा गर्ने 
५. आत्महत्या गर्ने माध्यमहरू जस्तैः विषादी, हातहतियार, औषधि अथवा अन्य माध्यमहरू खोजी गर्ने वा सङ्कलन गरेर राख्ने 
६. परिवार इष्टमित्रहरूलाई बिदाइ भेट गर्ने, आफ्नो सम्पत्ति बाँडिदिने वा आफ्नो अन्तिम इच्छा लेख्ने 
७. आत्महत्या गर्नुअघि आफ्ना कुरा र व्यवहारहरू सिलसिलाबद्धरूपमा मिलाउने 
८. लागुपदार्थको अत्यधिक प्रयोग गर्ने 
९. यो मेरो अन्तिम पटकको भेट हो भन्नेजस्ता शब्दहरू प्रयोग गर्ने 
१०. आफूसँग भएको बहुमुल्य सामानहरू अरूलाई बाँड्ने 
११. सामाजिक सञ्जालहरूमा मृत्युबारे लेख्ने वा मृत्युबारेकै घटनाहरू शेयर गर्ने 
१२. सरसफाइमा ध्यान नदिने, एक्लै बसिरहने

आत्महत्या सोच आएकाहरूलाई यसरी सहयोग गरौँ 

आत्महत्याको विचार व्यक्त गर्ने र आत्महत्यासम्बन्धी कुराहरु बारम्बार व्यक्तिले गर्छ भने केही समस्या छ भन्ने बुझ्नुपर्छ । समस्या समाधानका लागि सहयोग सम्झनुपर्छ । त्यसका लागि व्यक्ति आफैँ, परिवारका सदस्य र समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ । 

१. आत्महत्या तथा आत्महानीको व्यावहारिक सङ्केतहरूलाई चिन्ने 
२. आत्महत्यासम्बन्धी साबधानी अपनाउने जस्तैः (मर्नका लागि प्रयोग हुने साधनहरू टाढा राख्ने, ती व्यक्तिहरूसँग साथै रहने र एक्लै नछाड्ने, भावनाको कदर गर्ने, उनीहरूको कुरा सुनिदिने)
३. मनोचिकित्सक, मनोविमर्शकर्ता, मनोविद् र तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोग लिन प्रोत्साहन गर्ने 
४. हेल्पलाइनको सहयोग लिने, लिन प्रोत्साहन गर्ने हेल्पलाइन नम्बर ११६६ 
५. निरन्तर सम्पर्कमा रहिरहने र अवस्थाबारे जानकारी लिने 
६. कुनै पनि आत्महत्यालाई गम्भीरता साथ लिने र आत्महत्या तथा आत्महानीबारे खुलेर कुराकानी गर्ने । 

व्यक्ति आफैँले के गर्ने ? 

१. एक्लै नबस्ने 
२. जीवनमा आइपर्ने घटनाहरूलाई सामान्यरूपमा लिने 
३. नकारात्मक सोचाइ नराख्ने 
४. आशावादी हुने र भोलिको उज्यालो दिनको कल्पना गर्ने 
५. आफ्नो मन र शरीरलाई माया गर्ने । आफूलाई नोक्सान नपुर्याउने 
६. अरूको सहयोग माग्ने र लिने । 
७. आत्महत्याले पर्न सक्ने नकारात्मक असरको मूल्याङ्कन गर्ने । 

परिवारले के गर्ने ? 

१. समस्यामा रहेका व्यक्तिको गुनासा र समस्याहरू ध्यान दिएर सुन्ने 
२. भावनाहरू पोख्ने वातावरणको सृजना गर्ने 
३. परिवारको कुन सदस्यसँग कुराकानी गर्न सहज मान्छ त्यो पत्ता लगाउने 
४. समस्याहरू भन्ने वातावरण बनाइदिने, जीवनका सकारात्मक पक्षलाई जोडदिने  
५. मर्नेबाहेक अन्य विकल्पको खोजी गर्ने 
६. व्यक्तिलाई एक्लै नछोड्ने  
७. राति सुतेको बेलामा ध्यान दिएर सुत्ने  
८. मार्नका लागि सामग्री नै लुकाएर राखेको छ भने हटाउने, सुरक्षित रहन वाचा गर्ने । 
९. जोखिम छ भन्ने लागेमा आफन्त, छिमेकीलाई खबर गर्ने  
१०. तुरुन्त स्वास्थ्य संस्थामा लैजाने 

यस्ता उपायहरू लागू गर्दा पनि समस्या बढ्न थाल्यो भने तुरुन्त मनोविमर्शकर्ता, मनोबिद्, मनोचिकित्सकको सहयोग लिनुपर्छ । आत्महत्या रोकथामका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ । 

अन्तिम अपडेट: असोज ६, २०७९

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

1 Comments

  • dinesh

    Sept. 10, 2022, 10:30 a.m.

    मृत्यु निश्चित छ तर मृत्युको समय निश्चित छैन। उसले जीवन अगाडि नबढाउने निर्णय गरिसक्यो अब आत्महत्याको समय निश्चित छ त्यसैले उसले आत्महत्यालाई रोज्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया