मौलिक ‘लाखे नाच’ ब्युँताउन जुटे लमजुङका युवा !

 भदौ २५, २०७९ शनिबार १३:४७:५७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ–विगतमा लमजुङमा गाउँ/टोल बजारमा लाखे नाच्ने चलन थियो । लाखे नाच हेर्नेको पनि घुइँचो लाग्दथ्यो ।

बीचका केही वर्ष कोरोना लगायतका विविध  कारणले पहाडी जिल्ला लमजुङमा लाखे नाच गाउँ, टोल बजारमा देखाइएन । 

स्थानीयहरु भने आशा गरेअनुसार नयाँ पुस्ताको चासो र चिन्ताको अभावमा यो मौलिक संस्कृति हराउँदै जान थालेको हो कि ! भन्नेमा चिन्तित थिए । तर यो मौलिक संस्कृतिको थप उजागर र संरक्षणमा अहिले लमजुङका नेवार समुदायका युवा लागि परेका छन् ।

नेवार समुदायको मौलिक परम्परा हो, लाखे नाच । लाखेको भेष पहिरिएर नाचिने  परम्परागत लाखे नाचले धेरैको ध्यान खिच्ने गर्दछ । ढलकी, सहनाइ झ्यालीको तालमा मुखुण्डो पहिरिएर नाचिने लाखे नाच निकै रोचक मानिन्छ । मनोरञ्जनका साथै मौलिकता बोकेको तर पछिल्लो समय हराउँदै गएको लाखे नाचलाई जोगाउन अहिले लमजुङका नेवार समुदाय र यस समुदायका युवा पुस्ता जुटेका छन् । 

लाखे नाच संरक्षणका लागि नेवार समुदायका साथै अन्य समुदायका नयाँ पुस्तालाई पनि आवश्यक ज्ञान, सिप सिकाइनुका साथै विभिन्न पर्व, अवसरमा लमजुङ, तनहुँ, गोरखा र कास्की लगायतका जिल्लाका नागरिकलाई समेत समेटी लाखे नाच प्रतियोगिता समेत सञ्चालन गर्ने गरिएको नेवा खल : सुन्दरबजार नगरपालिकाका अध्यक्ष नवराज श्रेष्ठले बताउनुभयो ।

धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको लाखे नाच

लाखे नाचको आफ्नै धार्मिक एवम् सांस्कृतिक महत्त्व छ । तीथि अनुसार मनाइने लाखे नाच हरेक वर्ष नाग पञ्चमीबाट सुरु भइ तीज पञ्चमीमा अन्त्य गरिने र यस अवधिमा पर्ने जनैपूर्णिमा, कृष्णअष्टमी र कुशे औँसी लगायतका पर्वमा पनि विशेष रुपमा लाखे नाच देखाइने परम्परा रहेको बेसीसहर नगरपालिका–११ चितीका अमृतकुमार श्रेष्ठले बताउनुभयो ।

यसवर्ष पनि ती पर्वको अवसरमा लमजुङमा लाखे नाच देखाइएको थियो । लाखे नाच्ने, लाखे नाचका लागि ढलकी, झ्याली बजाउने, र्यालीमा सहभागी हुनेमा युवापुस्ताको बाक्लै उपस्थिति देखिन्थ्यो ।  

   

पछिल्लो समय लाखे नाच लगायतका मौलिक संस्कृति संरक्षणमा पाको पुस्तालाई लमजुङका युवाहरुको पनि साथसहयोग मिलेको छ । लमजुङे युवाहरु मौलिक संस्कृति संरक्षणमा प्रत्यक्ष रुपमा जुटिरहेका र यसले संस्कृति संरक्षणमा थप जोड पुगेको लमजुङ सुन्दरबजार नगरपालिका–९, भोटेओडारका युवा सरोजकुमार श्रेष्ठले बताउनुभयो । ‘हामी युवाहरु हराउँदै गएका हाम्रा मौलिक परम्परा, संस्कृति जोगाउन लागि परेका छौँ,’ उहाँले भन्नुभयो ।

घरआँगनमै लाखे नाच हेर्न पाउँदा लमजुङे दङ्ग !  

गएका केही वर्ष लाखे नाच हराएकोजस्तो आभाष भए तापनि पुन : यसलाई ब्युँताउन नेवार समुदाय जुटेकामा आफूलाई निकै खुशी लागेको र धेरैपछि आफ्नै घरआँगनमा लाखे नाच हेर्न पाउँदा छुट्टै आभाष भएको सुन्दरबजारका गङ्गाप्रसाद अधिकारीले बताउनुभयो ।

‘बीचमा कोरोना प्रभावले पनि लाखे नाच हेर्न पाइएन । हराउँदै गयो कि भन्ने लाग्थ्यो । तर लाखे नाच संरक्षणमा लमजुङका नेवार समुदाय जुट्नुभएको छ । विभिन्न पर्वका अवसरमा यसवर्ष पनि लाखे नाच देखाइयो । यो नाच हेर्न पाउँदा साह्रै खुशी लाग्यो,’ उहाँले भन्नुभयो।

अन्तिम अपडेट: चैत ११, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया