तपाईँ र मैले मिचेको नियम र सीमा चाहिँ कसले भत्काउने ?

 भदौ २६, २०७९ आइतबार ९:९:८ | मिलन तिमिल्सिना
unn.prixa.net

कुरो सुन्दैमा तपाईँलाई झनक्क रिस उठ्यो होला । अनि भन्दै हुनुहोला – तैँले होलास् नि नियम मिचेको, मैले कहाँ मिचेको छु ? पख्नुहोस् पख्नुहोस्, एकछिन शान्त हुनुहोस् ! तपाईँले देखेजानेको र हिँडेको ठाउँतिर मात्रै होइन, तपाईँ आफैँले पनि कहीँ न कहीँ नियम र सीमा मिच्नुभएको हुन सक्छ । 

तपाईँ र मैले मिचेको नियम र सीमाको कुरा गर्नुअघि एकछिन अरुको कुरा गरौँ । सबैभन्दा पहिले सडकको फुटपाथतिर लागौँ । फुटपाथ कसको ? तपाईँ भन्नुहोला, बटुवाको । तर हैन, कुनै फुटपाथ पसलेको हो । कुनै फुटपाथ मोटरसाइकलवालाको हो र कुनै फुटपाथ मोटरसाइकल बनाउनेको हो ।

पसलेलाई पसलभित्र मात्र सामान राखेर चित्त बुझ्दैन । उसले पसल अघिल्तिरको फुटपाथ, त्यो मुन्तिरको सडक र सडक पारिसम्म आँखाले देख्ने ठाउँ आफ्नै ठान्छ । त्यसैले उसले पसल अघिल्तिरको फुटपाथसम्मै सामान राख्छ । कसैकसैले त फुटपाथबाट पनि ओर्लेर सडकसम्मै सामान फिँजाउँछन् । आफ्नो पसल अघिल्तिरको फुटपाथ र सडकको सीमा नमिच्दासम्म उसको चित्तै बुझ्दैन ।

मोटरसाइकल चलाउनेलाई हेर्नुहोस् । सडकमा अलिकति जाम हुनेबित्तिकै फुटपाथमा मोटरसाइकल उकाल्छ । अनि हिँडिरहेको मान्छेलाई तर्साउँदै टाँटाँ र टीँटीँ गर्दै मोटरसाइकल हुइँक्याउँछ । अनि त्यही फुटपाथमा मोटरसाइकल तेर्स्याएर चुरोट, खैनी र पराग किन्न पसल छिर्छ।

मोटरसाइकल चलाउनेभन्दा मोटरसाइकल बनाउने झन् ठूलो । ठूलो र बलियो भएपछि त्यसै चुप लागेर बस्ने कुरो भएन । उसले पनि फुटपाथकै आडमा वर्कशप खोल्छ । काम चाहिँ वर्कशप अगाडिको फुटपाथ र सडक छेउमा बसेर गर्छ । हावा भर्ने पाइप तन्काएर सडकको बीचसम्मै पुर्याउँछ । अनि फुटपाथ र मुन्तिरको सडक छेउमा थोत्रा मोटरसाइकल लडाएर राख्छ । त्यहीँ नटबोल्ट खोलेर मोटरसाइकल ओल्टाइपल्टाइ गर्छ । वर्कशप आफ्नो भएपछि अघिल्तिरको फुटपाथ र सडक पनि आफ्नै । जस्ता पसले, उस्तै वर्कशपवाला । फुटपाथ र सडकको सीमा मिच्न दुवै खप्पिस ।

कोठा भाडामा लिएर पसल थाप्ने र वर्कशप चलाउनेले नियम मिचेपछि धरधनीले छोड्ने कुरै भएन । आफ्नो घरमास्तिरको आकाश सबै आफ्नै भएपछि घरले छोएजति सडक, जग्गा पनि आफ्नैजस्तो लाग्छ । त्यसैले पाएसम्म, भ्याएसम्म र मिलेसम्म दायाँबायाँ र अघिपछिका ठाउँ मिच्छ । घरवालाले मिचेका सबै सडक, पेटी, फुटपाथ र आकाशतिर उभिएका तला र भूमिगत टहरा भत्काउन देशैभरका डोजर चलायमान भए भने पनि भर्खरै चुनिएका मेयरहरुको कार्यकालमा त्यो काम भ्याउन मुश्किलै पर्छ ।

नेताका झन् के कुरा गर्नु ? सिंहदरबार पस्नेले बालुवाटार पुगेर सीमा मिचे । सिंहदरबार पस्न नसक्नेले खुलामञ्चको सीमा मिचे । बालुवाटार र खुलामञ्च मिच्न नसक्नेले खोलानदीको सीमा मिचे । खोलाको सीमा नाघेर बीचमै घर ठड्याए । वर्षामा एकपटक खोला आफ्नो सीमा खोज्दै आउने हो । नत्र अरु बेला न खोलाले विरोध प्रदर्शन गर्छ, न खोला जोगाउँछु भन्नेले नै आवाज उठाउँछ ।

खोला र नदीको सीमा मिच्न नसक्नेले चाहिँ छिमेकीका सीमा मिच्छन् । छिमेकीले नदेख्ने गरी साँधको ढुङ्गो पर सार्छन् । आँठा काटेर सम्याउँछन् । पर्खाल भत्काउँछन् । साँधमै रुख रोप्छन् । घाँस आफूलाई, सेप उसलाई बनाउँछन् । घर बनाउँदा एक इञ्च नै भए पनि साँध नचेप्दासम्म चित्त बुझ्दैन । सकेजति सबै गर्छन् । घर बनाउने बेला उसैगरी बालुवा, इँटा, ढुङ्गा थुपारेर सडकको सीमा मिच्छन् ।

घरजग्गा, बाटोघाटोको सीमा मिचिएको कुरा छाड्नुहोस् । सबैतिर सकेजति सीमा मिच्ने बानी नानीदेखि नै लागेको हुन्छ, तपाईँलाई पनि मलाई पनि । सानामा सर, मिस र बाआमाले नैतिक शिक्षा र अनुशासन घोकाए । तर अनुशासनलाई आफ्नै शासन ठानेर हामीले नैतिकताको सीमा नाघ्यौँ, नियम मिच्यौँ ।

नैतिकता र मर्यादाको सीमा नाघेको सबै कुरा सबैलाई भन्न मिल्दैन । कहिलेकाहीँ मुद्दामामिला परेपछि मात्रै थाहा हुन्छ । अनि ठूलो भएपछि आत्मकथामा पनि लेख्न मिल्छ । सानो छँदा मैले पल्लोघरको सुन्तला चोरेको थिएँ । तल्लोघरकीलाई जिस्क्याएको थिएँ । अर्कीसँग अर्कै ठाउँमा गएको थिएँ । त्योसँग यो योसमेत भएको थियो । माथ्लोघरको बालाई नदेख्नेगरी ढुङ्गाले हानेर भागेको थिएँ । ठूलाबडाले लेखेको आत्मकथा पढ्नुहोस् त । यति लेख्दा त केही हुन्न भनेर मिल्ने जति मात्र लेखेका हुन् । भन्नै नमिल्ने, लेख्नै नमिल्ने गोप्य कुरा अझ कति होला ! तपाईँ र मैले यसरी नैतिकता र मर्यादाको सीमा मिचेको विरोध चाहिँ कसले गर्ने ? न तपाईँले मेरो विरोध गर्न मिल्यो, न मैले तपाईँको।

फुटपाथको सीमा मिच्ने पसलेले सडकको सीमा मिच्ने गाडीवालाको विरोध गर्न मिलेन । सडकको सीमा मिच्ने वर्कशपवालाले बालुवाटारको सीमा मिच्नेको विरोध गर्न सुहाएन । अनि तपाईँले नैतिकताको सीमा मिच्दै उपद्रो गरेको कुरा त्यस्तै अर्को उपद्रो गर्ने मैले भन्न मिलेन । लेख्दै जाँदा मैले सीमा मिचेको कुरा तपाईँले थाहा पाउने डर ! पढ्दै जाँदा आफूले सीमा र नियम मिचेका धेरै कुरा तपाईँले सम्झने डर ! कुरा गर्दै जाँदा तपाईँ र मैले सीमा मिचेको भत्काउनसमेत बालेन नै आउने हो कि भन्ने डर ! त्यसैले यो व्यङ्ग्यको सीमा पनि योभन्दा धेरै नमिचौँ है त !

अन्तिम अपडेट: चैत ८, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया