त्रिशूली जलविद्युत् कम्पनीको शेयरबापतको बाँकी रकम असाेज ४ गतेदेखि सङ्कलन गरिने

 भदौ २७, २०७९ सोमबार १६:३०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको शेयरबापतको बाँकी रकम आउँदाे असाेज ४ गतेदेखि सङ्कलन गर्ने भएको छ । रकम बुझाउने अन्तिम मिति आउँदाे कात्तिक १७ गतेसम्म तोकिएको छ । 

'जनताको जलविद्युत् कार्यक्रम' अन्तर्गत कम्पनीले २०७५ साल चैत महिनामा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) शेयर निष्कासन गरी प्रतिशेयर एक सय रुपैयाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ सङ्कलन गरेको थियो । कम्पनीको शेयर बाँडफाँटमा शेयर पाइ प्रतिकित्ता १० रुपैयाँ बुझाएका एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण शेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनुपर्ने छ । 

साविकका सर्वसाधारण शेयरधनीबाट अङ्कित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ सङ्कलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताउनुभयो । 

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ मा वार्षिक आठ प्रतिशत ब्याज दिनुपर्ने प्रावधान बमोजिम शेयरधनीले प्रतिकित्ता तीन रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा अहिले प्रतिकित्ता ८७ रुपैयाँ जम्मा गरे हुने छ । 

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा सीडीएस एन्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको 'मेरो शेयर' सफ्टवेयरबाट समेत शेयरधनीले रकम बुझाउन/आवेदन दिन सक्नेछन् । शेयरधनीले यसरी रकम भुक्तानी गर्दा आस्वा शुल्कसमेत तिर्नुपर्ने छैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ अनुसार शेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका शेयरधनीले लिन कबुल गरेको शेयरबापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ । ‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले साविकका शेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ सङ्कलनका लागि आह्वान गरेका हौँ’, प्रबन्ध–सञ्चालक गौतमले भन्नुभयो । 

आयोजनाकाे प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहने छ । 

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक सात अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ । निर्माण अवधिको ब्याजबाहेकको आयोजनाको अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ । 
आयोजनाको निर्माण फागुन २०७७ मा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको थियो । तर नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो हप्ता आफ्नो घर गएका चिनियाँ कामदार कोभिड–१९ का कारण फर्कन नसक्दा र लामो समयसम्म रसुवागढी नाका बन्द हुँदा चीनबाट निर्माण सामाग्री तथा उपकरण ल्याउन नसकिएकोले पूर्णरूपमा भइरहेको आयोजना निर्माण झन्डै १५ महिना ठप्प प्रायः भएको थियो । 

आयोजनाको निर्माण २०७७ को चैतदेखि मात्र पुनः सुरु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले झन्डै तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै मुख्य सुरुङमा पूर्वानुमान गरिएभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । चिनियाँ ठेकेदार कम्पनी सुइफा आने ग्रुप कम्पनी लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युत् गृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ । 

इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका लागि सुइफा आने ग्रुप कम्पनी लिमिटेडसँग २०७४ माघ २९ गते ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्ने छ । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली थ्री बी ले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन । माथिल्लो त्रिशूली थ्री ए को विद्युत् गृहबाट बिजुली उत्पादनपछि निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । 

समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाको काम २०८० साल असोजभित्रमा सक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ गतेसम्म) १३ करोड ४८ लाख ८० हजार र वर्खायाममा (जेठ १६ देखि मङ्सिर १५ गतेसम्म) १५ करोड ७७ लाख १० हजार युनिट बिजुली उत्पादन हुने छ । उत्पादित बिजुली अहिले सञ्चालनमा रहेको समुन्द्रटार–त्रिशूली थ्री बी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया