डा. गाेविन्द केसी २० औँ पटक अनशनमा

 भदौ २७, २०७९ सोमबार १८:५२:३६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै डाक्टर गोविन्द केसीले २० औँ अनशन सुरु गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा उहाँले २० औँ अनशन सुरु गर्नुभएको हो । 

कैलालीको धनगढी पुगेर चिकित्सा शिक्षा अभियन्ता केसीले धनगढीको एलएनचोकमा रहेकाे कृष्ण मन्दिरको धर्मशालामा ६ बुँदे मागसहित अनशन सुरु गर्नुभयो । सत्याग्रह सुरु गर्ने क्रममा पत्रकारसँग कुराकानी गर्दै उहाँले पटक–पटक भएका सम्झौता कार्यान्वयन हुन नसकेका कारण २० औँ पटक अनशन बस्नुपरेको बताउनुभयो । 

सत्याग्रहको क्रममा सादा पानी मात्रै पिउने डा. केसीले बताउनुभयो । आफ्नाे माग पूरा गर्न सरकारलाई भदौ २८ गतेसम्म अल्टिमेटम दिएको तर सरकारले बेवास्ता गरेकाे उहाँले आरोप लगाउनुभयो । प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृह क्षेत्रमा सत्याग्रह गर्ने निर्णयमा पुगेको केसीकाे भनाइ छ । 

डा. केसीले स्वास्थ्य सेवामा सुधारका लागि देशका सबै सरकारी अस्पतालमा बेड सङ्ख्याअनुसार दरबन्दी बढाउनुपर्ने माग राख्नुभएको छ । त्यस्तै जनसङ्ख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने माग उहाँको छ । 

स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी, आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गर्न केसीले माग राख्नुभएको छ । त्यसैगरी विभिन्न प्रतिष्ठानमा जनशक्तिको अभाव पूर्ति गर्दै दाङलगायत मधेस र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण सुरु गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन अनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउनुपर्ने उहाँकाे माग छ । यस्तै यसअघि भएका सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा पनि सरकारी मेडिकल कलेज निर्माणको काम अघि बढाउनुपर्ने डाक्टर केसीको माग छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया