जबराले आरोप लगाएका व्यक्तिसँग पनि बयान लिने तयारी, यत्तिकै छाड्न नहुने सदस्यहरूकाे भनाइ

 भदौ २८, २०७९ मंगलबार १४:४५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – महाअभियाेग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आरोप लगाएका व्यक्तिलाई पनि बोलाउने तयारी गरेको छ ।

आज मङ्गलवार बसेको समितिको बैठकले आजसम्म बयानका क्रममा जबराले नाम लिएका विभिन्न दलका नेता, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ता, बार एसोसिएशन, सर्वोच्च बार एसोसिएशन लगायतका पदाधिकारीलाई पनि बयानमा बोलाउनेबारेमा छलफल गरेको छ । समितिका सदस्य प्रमोद साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई गम्भीर आरोप लगाएकाले पनि उनीहरूलाई पनि बोलाउने तयारी भएको बताउनुभयो ।  

जबराले सर्वोच्च अदालतलाई दलहरूले सेटिङका आधारमा चलाउने गरेको, न्यायाधीशहरूले स्वार्थका आधारमा फैसला गर्ने गरेको, आफूले भनेअनुसारका फैसला नआएमा सिधा तथा घुमाउरो बाटोबाट न्यायाधीशहरूलाई सिध्याउने गरेको लगायतका आरोप लगाउनुभएको छ । यस्तै उहाँले पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले पनि सर्वोच्च अदालतका नियुक्तिमा भाग खोज्ने गरेको आरोप लगाउनुभएको थियो । उहाँले लगाएका आरोप गम्भीर प्रकृतिका भएको भन्दै समितिले आरोपित व्यक्तिलाई पनि बोलाउने तयारी गरेको हो ।  

समिति सदस्य साहले आरोप लगाइएका व्यक्तिका कुरा पनि सुनिनुपर्छ भन्ने मान्यताअनुसार अघि बढ्ने बताउनुभयो । उहाँले  महाअभियोग गम्भीर कुरा भएको उल्लेख गर्दै जबराविरुद्ध बयान र प्रमाणहरू मेल खाएको समेत दाबी गर्नुभयो । समितिले अस्ति आइतवारसम्म ३५ वटा प्रश्न गरेको छ । जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिले अहिले पनि बयान लिइरहेको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • भुबनेश्वर शर्मा पौडेल

    Sept. 14, 2022, 6:20 a.m.

    ज ब रा ले भनेका कुरा प्राय सहि नै छन।जबसम्म न्यायालय का न्यायाधीश नियुक्ति भागबन्डा मा गरिन्छ तबसम्म स्वच्छ न्याय हुनै सक्दैन।न्यायालय स्वतन्त्र हुनैपर्छ ।तर नेपाल मा छैन।न्यायाधीश नियुक्ति गर्ने छुट्टै एउटा शक्तिशाली निकाय हुनै पर्छ।राजा बाहेक यो संभव देखिन।

  •  0 Reply

तपाईको प्रतिक्रिया