विश्वभर ५ करोड मानिस दासको रूपमा बाँच्न बाध्य, धनी देशमा पनि दासत्वको समस्या

 भदौ २८, २०७९ मंगलबार १६:३३:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्वभर पाँच करोड जना मानिस दासको रूपमा बाँच्न बाध्य भएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गरेको अध्ययनले महामारी र युद्धका कारण दास बन्न बाध्य हुने मानिसको सङ्ख्या निकै तीव्र गतिमा बढेको देखाएको छ । सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन र विश्वव्यापी महामारीका कारण आधुनिक दासत्व बढ्दो चुनौती बनेको छ ।

आईएलओका अनुसार अहिले विश्वभर ५० मिलियन अर्थात् पाँच करोड मानिस दास बन्न बाध्य छन् । एक सय ५० जना जीवित व्यक्तिमध्ये एक जना जबरजस्ती श्रम वा जबरजस्ती विवाहमा फसेका छन् । यो पाँच वर्षअघिको तुलनामा यसको सङ्ख्यामा झन्डै एक करोडले बढी हो । आईएलओले आधुनिक दासत्वको बढ्दो सङ्ख्यालाई चकित पार्ने तथ्याङ्क भनेको छ ।

आईएलओका महानिर्देशक गाई राइडरले मानव अधिकारको यो दुरुपयोगको निरन्तरतालाई रोक्न नसकेमा अवस्था झनै खराब हुने बताएका बीबीसीले जनाएको छ । ट्रेड युनियन, रोजगारदाता सङ्गठन, नागरिक समाज र साधारण मानिस सबैले महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको उनले बताएका छन् । संयुक्त राष्ट्रको श्रम सङ्गठनले दासत्व गरिब देशमा मात्र सीमित नभइ आधाभन्दा बढी मध्यम वा उच्च आय भएका धनी देशमा पनि रहेको जनाएको छ ।

आईएलओले जबरजस्ती श्रम र जबरजस्ती विवाह दुवैलाई आधुनिक दासताको रूपमा गणना गर्दछ । पाँच करोड जना दासमध्ये ३३ लाख जना बालबालिका हरेका छन् । यसमध्ये आधाभन्दा धेरै बालबालिका व्यावसायिक यौन शोषणमा रहेका छन् । दुई करोड ६ लाख जना मानिस जबरजस्ती श्रममा छन्, यस्तै दुई करोड दुई लाख जना जबरजस्ती विवाह गर्न बाध्य भएका छन् । उनीहरू १५ वर्षमुनिका छन् ।

कोभिड–१९ महामारीले मानिसको आम्दानीमा ठूलो बाधा पुर्‍याउँदा नागरिक थप ऋणमा डुबेको र ऋण तिर्न नसक्दा दास बन्नुपरेको अध्ययनले देखाएको छ । महामारीले २० वर्षमा पहिलो पटक चरम विश्वव्यापी गरिबीमा वृद्धि भएको आईएलओले बताएको छ । युद्ध र सशस्त्र द्वन्द्वले बालबालिकालाई बाल सैनिकको रूपमा काम गर्न वा सेवा गर्न भर्ती गराएको छ । यस्तै जलवायु परिवर्तनले मानिसलाई आफ्नो घर छोडेर आप्रवासी बन्न बाध्य तुल्याएको प्रतिवेदनमा उल्लेख छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया