काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
शुक्रबार दुबईमा भएको एसिया कपको फाइनलमा बंगलादेशविरुद्ध भारतले ३ विकेटले रोमाञ्चक जित हात पारेको छ ।
बंगलादेशले दिएको २२३ रनको विजयी लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा सात विकेटको क्षतिमा भेट्टाएको हो । एक दिवसीय क्रिकेटको उपाधिका लागि अन्तिम बलमा जित हात पारेको यो दोस्रो पटक हो ।
एसिया कप २०१८ को उपाधि उचाल्दै भारत ७ पटक एसिया कपको च्याम्पियन बन्न् सफल भएको छ ।
फाइनलमा शतक प्रहार गर्ने बंगलादेशी ब्याट्सम्यान लिटन दास म्यान अफ् द म्याच बने । त्यस्तै भारतका लागि ५ खेलमा ३४२ रन बनाउने शिखर धवन म्यान अफ् द सिरीज बने ।
उपाधिका लागि फाइनलमा भारतलाई फेभरेट मानिए पनि बंगलादेशसँग जितका लागि भारतीय ब्याट्सम्यानलाई निकै मेहनत गर्नुपर्यो ।
बंगलादेशी बलरले भारतीय ब्याट्सम्यानलाई कडा दबाब दिए । सुपर फोरको अन्तिम खेलमा अफगानिस्तानसँग टाई गरेको भारतले बंगलादेशसँगको खेलमा पनि उत्कृष्ट प्रर्दशन भने गर्न सकेन ।
भारतलाई जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक थियो । भारतसँग तीन विकेट बाँकी थियो । बंगलादेशले अन्तिम ओभरमा महमुदुल्लाहलाई बलिङ गर्न दियो । क्रिजमा कुलदीप यादव र केदार जाधव थिए । कुलदीपले त्यसभन्दा पहिले मात्रै एक बल फेस गरेका थिए ।
कुलदीपले अन्तिम ओभरको पहिलो बलमा एक रन बनाए । दोस्रो बलमा केदारले एक रन लिए । तेस्रो बलमा कुलदीपले दुई रन लिए ।
अब बाँकी ३ बलमा भारतलाई जितका लागि मात्र दुई रनको खाँचो थियो । चौथो बलमा कुन कुनै रन बनेन । भारतलाई दुई बलमा अब दुई रन आवश्यक भयो । पाँचौ बलमा कुलदीपले एक रन लिए । अन्तिम बलमा भारतलाई एक रन चाहियो र क्रिजमा थिए केदार जाधव । उनले अन्तिम बलमा प्रहार गरेको शर्ट फाइन लेगतर्फ गयो । भारतले लेगबाईमार्फत पाएको एक रनले उपाधि आफ्नो हातमा पार्यो ।
केदार जाधव २३ रन बनाउँदै नटआउट रहे भने कुलदीप पाँच रन बनाउँदै नटआउट रहे ।
भारतीय टिमको सुरुवाति राम्रो भएन । पूरा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका शिखर धवन मात्रै १५ रन बनाएर आउट भए । अम्बाती रायडू पनि दुई रनमै पेभेलियन फर्किए । लयमा देखिएका कप्तान रोहित शर्माले पनि ठूलो पारी खेल्न सकेनन् । रोहित ५५ बलमा ४८ रन बनाएर आउट भए । भारतको स्कोर बोर्डमा ८३ रन हुँदा उसले तीन विकेट गुमाइसकेको थियो । महेन्द्र सिंह धोनी र दिनेश कार्तिकले चौथो विकेटका लागि ५४ रन जोडे । कार्तिक ३७ रन बनाएर महमुदुल्लाहको बलमा आउट भए ।
त्यसपछि धोनी पनि ३६ रन बनाएर मुस्तफिजुर रहमानको बलमा आउट भए । रवीन्द्र जडेजाले २३ रन बनाउँदा भुवनेश्वर कुमारले २१ रनको योगदान दिए ।
बंगलादेशले लिटन दासको शतकीय पारी(१२१) मद्धतमा २२२ रन बनाएको थियो । दासले ११७ बलमा १२ चाैका र २ छक्काकाे सहयाेगमा १२१ रन बनाए ।
बंगलादेशले ४८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२२ रन बनाएको हो ।
बंगलादेशले ब्याटिङ गर्दा सुरुवात राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा सामान्य स्कोर बनाएको थियो । पहिलो विकेटका लागि लिटन दास र
मेहदी हसनले १२० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गराएका थिए । तर त्यसपछि नियमित रुपमा विकेट गुमेपछि भारत बंगलादेशमाथि हावी भएको थियो ।
भारतका लागि कुलदीप यादवले तीन तथा केदार जाधवले दुई विकेट लिए । त्यस्तै जसप्रीत बुमराह र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।