काठमाण्डाै महानगरविरुद्ध फुटपाथ व्यापारीकाे प्रदर्शन (तस्बिरहरू)

 भदौ ३०, २०७९ बिहिबार १८:१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घले काठमाण्डाै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । 

बिहीवार फुटपाथ व्यवसायीले काठमाण्डाै महानगरपालिकाको कार्यालय घेराउ र विरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउने भनेर समय माग गरे पनि मेयर शाहले समय नदिएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई व्यवसायीले ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मेयर शाह आफ्नो अभियानमा भएको र फुटपाथ व्यवसायीको मागलाई जस्ताको तस्तै मेयर शाहलाई बुझाउने बताउनुभयो । व्यवसायीको जवाफ आफूले दिन नसक्ने उहाँले बताउनुभयो । 

त्यस्तै नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घ बाग्मती प्रदेश कमिटीका उपाध्यक्ष सनत ढकालले महानगरपालिकाले फुटपाथ व्यापारीलाई अमानवीय व्यवहार गरेको भन्दै त्यसकाे भर्त्सना गर्ने बताउनुभयो । उहाँले सडकमा व्यापार–व्यवसाय गरेर आफैँ स्वरोजगार भएका नागरिकलाई सम्मान गर्नुपर्ने अवस्थामा महानगरले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उहाँले स्थानीय सरकार सबै नागरिककाे अभिभावक भए पनि सरकार लुटेराजस्तो भएको आराेप लगाउँदै आफूहरू सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घ बाग्मती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले तीन दिन अगाडिदेखि समय माग गर्दासमेत मेयर शाहले समय नदिएको गुनासाे गर्नुभयाे । उहाँले फुटपाथ व्यवसायीको रोजीरोटी खोसिएपछि न्यायका लागि कहाँ जाने भन्दै प्रश्न गर्नुभयो । उहाँले व्यवसायीलाई सडक पेटीमा व्यवसाय गर्ने ठाउँ नभएको थाहा भएको तर २४ घण्टामा दुई घण्टा गरिखाने वातावरण मिलाउन माग गरेको बताउनुभयो । अध्यक्ष गुरुङले मेयर शाहले १० औँ हजार नागरिकले सडकमा रोइरहेको आवाज सुन्नुपर्ने बताउनुभयो ।

त्यस्तै फुटपाथ व्यापारी रमा महतले १४ वर्षदेखि सुन्धाराको फुटपाथमा व्यापार गर्दै आए पनि अहिले महानगरले हटाएकाले दिनको तीन घण्टा व्यापार गर्न पाउनुपर्ने माग राख्न आन्दोलनमा आएको बताउनुभयो । निम्न आयस्रोत भएकाले गरिखान पाउनुपर्ने व्यवसायीको माग छ । उनीहरूले मेयर शाहको विरुद्धभन्दा पनि फुटपाथ व्यवसाय गर्नका लागि विकल्प दिनुपर्ने माग रहेको बताएका छन् । 

कुनै विकल्प नदिइ पूर्वसूचनाविना आफूहरूलाई हटाएर महानगरले दमन गरेको भन्दै व्यवसायीले प्रदर्शन गरेका छन् । काठमाण्डाै महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीले महानगरविरुद्ध आन्दोलन गरेका हुन् । महानगरले विधि र कानुनी प्रक्रिया विपरीत निर्माण भएका संरचना हटाउने अभियान सञ्चालन गरिरहँदा सडकपेटी तथा गल्लीमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकको सामान कब्जा गर्ने, श्रमिकलाई हातपात र गिरफ्तार गर्नेजस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरि गरिखाने श्रमिकलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरविरुद्ध प्रदर्शन गरेका हुन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया