१ महिनामा ९२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे, विदेश जाने बढे

 भदौ ३०, २०७९ बिहिबार १८:४९:३२ | रासस
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा रेमिट्यान्स भित्रिने क्रम २० दशमलव तीन प्रतिशतले बढेकाे छ । 

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकाे जनाएको छ । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव पाँच प्रतिशतले वृद्धि भइ ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ । 

अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव आठ प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिनेको सङ्ख्या दुई सय २२ दशमलव ८ प्रतिशतले वृद्धि भइ ४४ हजार पाँच सय ४० जना पुगेको छ । 

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या समीक्षा अवधिमा ७५ दशमलव चार प्रतिशतले वृद्धि भइ २० हजार तीन सय ९० जना पुगेको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो सङ्ख्या दुई सय ८६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव चार प्रतिशतले वृद्धि भइ एक खर्ब एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो ट्रान्सफर १५ दशमलव सात प्रतिशतले घटेको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया