प्रचण्ड पार्टी कब्जा गर्न एमालेसँग मिलेका थिए : देवी ज्ञवाली

 भदौ ३०, २०७९ बिहीबार २०:०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति इङ्गित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाउनुभएको छ । 

बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ज्ञवालीले प्रचण्डले एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाउनुभएको हो । उहाँले नेकपा एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरे पनि माओवादीले ओली बिरामी भएपछिको अवस्थामा पार्टी कब्जा गर्ने मनसायले एकता गरेर कम्युनिस्ट पार्टीलाई विभाजित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीका अध्यक्षले कम्युनिस्ट पार्टीको एकता गर्ने उद्देश्यले आजभन्दा चार/पाँच वर्षअघि नेकपा माओवादीसँग एकता गर्नुभयो । पार्टी एकता गर्ने हाम्रो पवित्र उद्देश्य थियो । तर कसैकसैको उद्देश्य के रहेछ भने केपी ओली बिरामी छन्, त्यसपछिको स्थितिमा मकहाँ पार्टी आउँछ र एमाले पार्टी कब्जा गर्छु भन्ने दुराशय बोकेका रहेछन् । जब एमाले पार्टी कब्जा हुन सक्दैन भन्ने थाहा भयो त्यसपछि १९ पृष्ठको १९ बुँदे आरोप लगाएर कम्युनिस्ट पार्टीलाई विभाजित गरेर विस्तारवादी र साम्राज्यवादीहरूको हितमा आफूलाई उभ्याएपछि नै यो ध्रुवीकरणको प्रक्रिया अघि बढिरहेको छ ।’

केन्द्रीय सदस्य ज्ञवालीले एमालेका कार्यकर्ता पार्टीले दिएको निर्देशनअनुसार काम गर्न तयार रहेको बताउनु भयो । उहाँले अघिल्लो चुनावमा कम्युनिस्ट पार्टीको एकताका लागि मतपत्र च्यातेर, हडपेर, हराएको कुरा बिर्सिएर लागे पनि आफ्नो त्याग र तपस्यालाई बिर्सिएको गुनासो गर्नुभयो । उहाँले चिर प्रतिपक्ष नेपाली कांग्रेससँग साँठगाँठ गरी कम्युनिस्ट पार्टीलाई धराशायी बनाउन प्रचण्ड पक्ष लागेको भन्दै नेकपा माओवादी केन्द्रलाई पुष्पकमल एन्ड कम्पनीको संज्ञा दिनुभयो । उहाँले चितवनजस्तो पवित्र भूमिमा अबका दिनमा छलछाम गर्न नदिने सङ्कल्प पनि गर्नुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का चितवन सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियार लगायत नेता, कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया