माथिल्लो अरुण जलविद्युत् आयोजनामा बैङ्क तथा वित्तीय संस्थाले  ५३ अर्ब रुपैयाँ लगानी गर्ने

 भदौ ३१, २०७९ शुक्रबार ७:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रस्तावित राष्ट्रिय गौरवको आयोजना १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् स्वदेशी र विदेशी दुवै ऋण लगानीमा निर्माण हुने भएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैङ्क तथा वित्तीय संस्थाले ५३ अर्ब ३४ करोड रुपैयाँ बराबर लगानी गर्ने भएका छन् ।

सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको यो परियोजनाको कुल लागत २ खर्ब १४ अर्ब ८६ करोड रुपैयाँ बराबर रहेको छ । आन्तरिक ऋण लगानी सम्बन्धी सम्झौतामा हिजो बेलुका हस्ताक्षर भएको हो।

लगानी सम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहवित्तीयकरणका अगुवाइ गर्ने एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नागरिक लगानी कोषका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र मन्त्रालयका उच्च अधिकारीको उपस्थितिमा भएको समझदारीअनुसार ऋण लगानी सम्बन्धी आवश्यक निर्णय हुनेछ । कुल १ हजार ६१ मेगावाट क्षमताको यो आयोजनामा कुल लागतको ७० प्रतिशत ऋण लगानी हुनेछ भने ३० प्रतिशत स्व:पुँजी रहनेछ ।

आयोजनामा कुल ऋण  एक खर्ब ५० अर्ब ४० करोड रुपैयाँ बराबर रहनेछ । त्यसमा वैदेशिक ऋण ९७ अर्ब छ करोड रुपैयाँ बराबर रहनेछ । विश्व बैङ्क, युरोपियन इन्भेस्टमेन्ट बैङ्कलगायतका वैदेशिक ऋण लिने तयारी गरिएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको अर्ध जलाशय प्रकृतिको यो आयोजनाको अहिलेसम्मको अध्ययनअनुसार अरुण नदीमा एक सय ८३ मिटर लामो र एक सय मिटर उचाइको बाँध बाँधिनेछ । कुल आठ दशमलव पाँच किलोमिटर लामो सुरुङमार्फत पानी ल्याएर स्थानीय छोग्राकमा रहेको भूमिगत विद्युत् गृहमा खसालिनेछ।

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया