चीनबाट बीआरआई आउँछ भन्ने पत्यार लागेकाे छैन : पूर्व अर्थमन्त्री पाण्डे

 भदौ ३१, २०७९ शुक्रबार १९:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीन सरकारले दिने 'बेल्ट एन्ड रोड इनिसिएटिभ' (बीआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताउनुभएको छ । 

शुक्रवार काठमाण्डाैमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बीआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले त्याे सहयाेगकाे ठूलो अपेक्षा गर्न नहुने बताउनुभएको हो । उहाँले बीआरआई परियोजना चीनकाे आक्रामक योजना नभएर सामान्य मात्रै रहेको बताउनुभयो । चीनसँगको बीआरआई सहयोगको जति व्यापक चर्चा भए पनि बीआरआई आउँछ भन्ने आशा नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालसँग चीनको सीमित मात्रै चाहना रहेको छ । जहाँ नेपालबाट चीनमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर मात्रै नेपाललाई सामान्य किसिमको सहयोग गरेर बस्ने नीति हो । बीआरआईको कुरा गर्दा पनि चीनको एग्रेसिभ योजना छैन सामान्य मात्रै देख्छु । काम गरिरहेको छ तर प्रगति केही छैन । अहिले जसरी बीआरआई एग्रेसिभ भएर नेपाल आउँछ त भनेर व्यापक चर्चा भएको छ । मलाई पत्यार लागेको छैन । चीनबाट बीआरआई आउँछ भन्ने लाग्दैन ।’

पूर्व अर्थमन्त्री पाण्डेले नेपाल चीनको मोनविज्ञान बुझेर मात्रै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपाल सरकारले अमेरिकी सहयोग एमसीसी पास गरेर ठिक गरेको उल्लेख गर्नुभयाे । उहाँले नेपालमा एमसीसी आउँदा चीनलाई चिन्ता भएर चासो उठाएको भन्दै नेपालमा अमेरिकाको उपस्थिति धेरै भयो भने चीनमात्रै नभएर भारत पनि रिसाउने अवस्था आउने बताउनुभयो । उहाँले भारतले नै नेपाललाई धेरै सहयोग आउन दिने अवस्था नभएको भन्दै विदेशी राष्ट्रको स्वार्थलाई बुझेर मात्रै वैदेशिक लगानीसम्बन्धी नीति बनाउन सुझाव दिनुभयाे ।   

पाण्डेले नेपालले भारतसँगको व्यापार नीति परिर्वतन गर्न नसके कहिल्यै पनि अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले देशको नेतृत्वले वास्तविक अन्तर्राष्ट्रिय कुटनीतिलाई बुझ्न नसके अब नेतृत्वमा आउने नयाँ नेतृत्वले समेत दुःख पाउने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया