पूर्वी भू–भागमा चिहान र ‘यातना केन्द्र’ भेटिएकाे युक्रेनको दाबी

 भदौ ३१, २०७९ शुक्रबार २०:३३:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनी अनुसन्धानकर्ताहरूले शुक्रवार पुनः कब्जामा लिएको इज्युम सहरबाहिरको सल्लाको जङ्गलमा पुगेर बलौटे माटोबाट सयौँ शवहरू निकाल्न सुरु गरेका छन् ।

एएफपीका संवाददाताका अनुसार कम्तीमा एउटा शव हातले बाँधिएको अवस्थामा गाडिएको भेटिएको छ । 

युक्रेनकाे राजधानी किएभका अधिकारीहरूले खार्किभ क्षेत्र रुसी आक्रमणकारीहरूबाट पुनः कब्जामा लिएपछि सामूहिक चिहानस्थलमा चार सय ५० चिहानहरू गणना गरिएको र १० कथित ‘यातना केन्द्रहरू’ फेला पारेको बताएका छन् ।

इज्युमबाहिरको जङ्गलमा चिहानको टुप्पोमा अस्थायी क्रस र नम्बरले चिनो लगाइएको एएफपीका सञ्चारकर्मीले बताए । चिहानमा लेखिएको थियो, ‘१७ युक्रेनी सेना गाडिएको इज्यूम चिहान ।’

किएभको सेनाले भर्खरैका दिनहरूमा पूर्वमा प्रति–आक्रमणमा धेरै क्षेत्रहरू बरामद गरेको छ र धेरै सहरहरूलाई रुसी सेनाबाट मुक्त गरेको छ । 

प्रहरी प्रमुख इगोर क्लाइमेन्कोले बालाकलिया सहर र खार्किभका अन्य स्थानमा यातना कक्ष फेला परेको बताएका छन् भने राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले इज्युम सामूहिक चिहानस्थलमा मात्रै कम्तीमा चार सय ५० शव रहेको बताउनुभएको छ ।

पोडोल्याकले भन्नुभयो, ‘कब्जा गरिएका क्षेत्रहरूमा महिनौँदेखि व्यापक आतङ्क, हिंसा, यातना र सामूहिक हत्याहरू भइरहेका भेटिएको छ ।’

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया