इस्मा गाउँपालिकाले शिक्षिका सुत्केरी बिदामा बस्दा स्वयंसेवक शिक्षक राख्ने

 असोज १, २०७९ शनिबार १६:३:३१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको इस्मा गाउँपालिकाले शिक्षिका सुत्केरी बिदामा बस्दा विद्यालयमा पठनपाठन गर्न स्वयंसेवक शिक्षक राख्ने भएको छ । शिक्षकहरू बिदामा रहँदा विद्यार्थीको सिकाइमा असर पर्ने भन्दै कार्यपालिकाको बैठकले २३ जना शिक्षकलाई स्वयंसेवक राख्ने निर्णय गरेको हो ।

विद्यालयमा कुनै शिक्षिका सुत्केरी भएको अवस्था एवं कुनै शिक्षक कुनै कारणबस लामो समयसम्म बिदामा बस्नुपरेको  समयमा विद्यालयको पठनपाठनमा कुनै समस्या नहोस् भन्ने उद्देश्यले यस्ताे व्यवस्था गरिएको इस्मा गाउँपालिकाका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताउनुभयाे । स्वयंसेवक  शिक्षकलाई वडा अनुसार शिक्षक नभएका विद्यालयमा  पठाउने र विद्यार्थीलाई नियमित रुपमा कक्षा सञ्चालन गर्न सहयोग पुग्ने उहाँकाे भनाइ छ ।

पालिकाले स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि २०७९ मा भएको व्यवस्था बमोजिम गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा विभिन्न कारणले आंशिक रुपमा रिक्त पदमा करार सेवा मार्फत खुल्ला प्रतिस्पर्धाका आधारमा स्वयंसेवक शिक्षकहरु राख्न लागेको हो । पालिकाले राख्न लागेका स्वयंसेवक शिक्षकहरुमा प्रथमिक तहमा दश, प्रारम्भिक बाल विकासमा दश र विद्यालय सहायकमा तीन गरि जम्मा २३ जना रहनेछन्  । 

कुनै शिक्षक पन्ध्र दिन भन्दा लामो समयसम्म बिदामा बस्नु परेमा वा परीक्षाको समयमा बिदामा बस्नु परेको अवस्था एवं अन्य कुनै कारणले बिदामा बस्दा विद्यालयको पठनपाठन थप प्रभावित नबनोस् भनेर पालिकाले यस्तो प्रकारको निर्णय गरेको इस्मा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत धनिश्वर पौडेलले जानकारी दिनुभयाे ।

इस्मा गाउँपालिकाले सुत्केरी बिदा बस्ने शिक्षिका तथा सुत्केरी स्याहार बिदामा बस्ने शिक्षकलाई प्राथमिकतामा राखेर याे निर्णय गरेको हो । इस्मा गाउँपालिकाभित्र माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बालशिक्षा गरि जम्मा ४७ वटा विद्यालयहरु रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया