निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष

 असोज २, २०७९ आइतबार १३:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने निष्कर्षसहितको अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

योसँगै निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो खुलेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रिपरिषद्को गएकाे साउन २६ गतेको निर्णयअनुसार विज्ञ समूह गठन भएको हो ।

नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको र यो निजगढमा उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष छ । प्रतिवेदनअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त ठाउँ काठमाण्डौ–तराई द्रुतमार्ग र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको झण्डै ९ हजार हेक्टर क्षेत्रफल भित्रको झण्डै ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ ।  

रुख कटानी तथा वातावरणीय क्षति घटाउन सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखेर एअरपोर्ट सिटीको अवधारणालाई पूरै त्याग्नुपर्ने सुझाव विज्ञ समूहले दिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र हात्तीको प्रमुख जैविक मार्ग रहेको भए पनि त्यो विमानस्थलभित्र नपर्ने र ठूला चराहरुको जोखिमपूर्ण आवतजावत पनि नहुने प्रतिवेदनमा भनिएको छ । प्रधानमन्त्री देउवाले प्रतिवेदन बुझ्दै विमानस्थल निर्माणमा ढिलाइ नगर्ने बताउनुभयो । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया