रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनका लागि देशभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
मङ्गलवार काठमाण्डाैमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजारमात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्नुपर्ने बताउनु भयो ।
मन्त्री शर्माले नेपाली उत्पादनमा वृद्धि गरी विदेशमा निर्यात बढाउनका लागि बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादन उद्योगमा बढाउन आवश्यक भएको बताउनुभयो । उत्पादनमूलक उद्योगमा दिने एक करोड रुपैयाँसम्मको कर्जाको सीमा बढाउनुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयाे, ‘सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग छ । आयात प्रतिस्थापनका उत्पादन वृद्धि गर्नुको अर्को विकल्प छैन । कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई एकस्तरको प्रशोधन गर्न सक्ने खालका साना उद्योगमार्फत आन्तरिक बजार मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा पनि नेपालको वस्तु निर्यात गर्न सक्ने अवस्था सिर्जना गर्नका लागि बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादन क्षेत्रमा गर्नुपर्छ । उत्पादनशील क्षेत्रको कर्जाको प्रिमियम संशोधन गर्नुपर्नेछ । प्रारम्भिक एक करोड रुपैयाँ भनिएको छ, त्यसले पुग्दैन, त्यो नीतिलाई पनि संशोधन गर्नुपर्नेछ ।’
मन्त्री शर्माले औद्योगिक क्षेत्रमा लगानीको अभावका कारण धराशायी हुने अवस्था आएको भन्दै उद्योगलाई सरकारले संरक्षण गर्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले लगानी अभावमा धराशायी हुने अवस्थामा पुगेका औद्योगिक क्षेत्रलाई सरकारले बचाउन नसके देशको आर्थिक विकास र समृद्धि सम्भव नहुने उहाँले दाबी गर्नुभयो ।
मन्त्री शर्माले उत्पादनको क्षेत्रमा लगानी वृद्धि गरेर मात्रै समग्र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिने भन्दै चालु आर्थिक वर्षमा ३० प्रतिशत आयात कम गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो । उहाँले तरलता चाप समस्या समाधानका लागि राष्ट्र बैंकको नेतृत्वमा अर्थ मन्त्रालय र बैंक तथा वित्तीय संस्थासँग वृहत् छलफल गरेर समाधान खोज्ने बताउनुभयो ।
कार्यक्रममा बाेल्दै अर्थमन्त्री शर्माले साना किसान र ग्रामीण अर्थतन्त्रको विकास गर्न नसके देश आर्थिक समृद्धिको बाटोमा जान नसक्ने बताउनुभयो । सरकारले अब ग्रामीण अर्थतन्त्रलाई जोड दिएर ग्रामीण क्षेत्रमा भएका स्रोत र साधनको प्रयोग गरी उत्पादन वृद्धि गर्ने बताउनुभयो । कृषि कर्जा लिएर जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँकाे भनाइ छ ।
मन्त्री शर्माले सरकारले लघुवित्त लगानी कोष बनाउने तयारी गरेको पनि सुनाउनुभयाे । उहाँले सरकारी संस्थानमा भएको कोषको समेत लगानी रहने गरी मन्त्रालयले लघुवित्त लगानी कोष नियमावली र कार्यविधि बनाइरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।