देशकाे अर्थतन्त्रले कृषि र उद्याेगमा लगानी वृद्धि खाेजेकाे छ : गभर्नर अधिकारी

 असोज ४, २०७९ मंगलबार १५:४३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्रले आन्तरिक उत्पादन, कृषि र उद्योगमा लगानी वृद्धि खोजेको बताउनुभएको छ । 

मङ्गलवार निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाले स्टार्टअप, साना उद्यम, कृषि उत्पादनमा कर्जा जोखिम देखेर लगानी गर्ने नगरेको बताउनुभयो । राष्ट्र बैंकले उत्पादन क्षेत्रमा लगानी जोखिमको सुरक्षण गर्ने नीति ल्याएको उहाँले बताउनुभयो । बैंक तथा वित्तीय संस्थाको आफ्नै किसिमको नीति भएकाले सरकारले वा अर्थतन्त्रले चाहेको ठाउँमा कर्जा दिन नसक्ने अवस्था आउने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘बैंक तथा वित्तीय संस्थाले कतिपय अवस्थामा सरकारले वा अर्थतन्त्रले चाहेको ठाउँमा कर्जा दिन नसक्ने अवस्था हुन सक्छ । बैंकको आफ्नै खालको नीति हुन्छ । यसो हुँदा बैंकले आफूलाई सहज हुने ठाउँमा मात्रै लगानी गर्ने भए । अहिले वर्तमान अवस्थामा कसरी हुन्छ आन्तरिक उत्पादन बढाउने, कृषि उत्पादन बढाउने र उद्योगमा लगानी बढाएर औद्योगिक उत्पादन बढाउने, साना लघु उद्यमीलाई प्रोत्साहन गर्ने र स्टार्टअप नयाँ आइडियालाई उद्यममा परिणत गर्ने सोच राज्यको छ । तर बैंकले त्यस्ता क्षेत्रमा लगानी गर्न जोखिम देख्छ । कृषिमा लगानी गर्न जोखिम देख्छ ।’

गभर्नर अधिकारीले अर्थतन्त्रले अहिले आन्तरिक उत्पादन वृद्धि खोजिरहेकाले राष्ट्र बैंकले अर्थतन्त्रको आवश्यकताअनुसार कर्जा नीति बनाउँदै आएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले अहिले बैंकको कुल कर्जा लगानीको १५ प्रतिशत साना लघु, घरेलु तथा साना उद्योग, कृषिमा र १० प्रतिशत जलविद्युतमा लगानी अनिवार्य गरेको उहाँको भनाइ छ । 

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको गुनासो गर्नुभयो । कोष ४८ वर्ष पुग्दा पनि योजनाविहीन देखिएको भन्दै नयाँ योजनाबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । योजनामा ध्यान दिन र प्रिमियममा मात्रै केन्द्रित नहुन उहाँको सुझाव छ ।  

गभर्नर अधिकारीले कोषको काम पैसा सङ्कलन गर्ने काममात्रै नभएको पनि बताउनुभयो । उहाँले कोषको इन्स्योरेन्सको डिपोजिट प्रभावकारी नभएको बताउनुभयो । राष्ट्र बैंकले आन्तरिक उत्पादन बढाउने विषयमा केन्द्रित भएर कर्जा योजनामा निर्देशन गरेको भन्दै कोषले पुलको काम गर्नुपर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया